चलचित्र खबरताजा समाचारदेशमनोरञ्जनसमाचार

करिब दश वर्षपछि मह जोडीले ‘मह जात्रा’ नामक प्रहसन दिने

करिब दश वर्षपछि मह जोडीले ‘मह जात्रा’ नामक प्रहसन दिने

Spread the love by sharing this post

करिब दश वर्षपछि मह जोडीले ‘मह जात्रा’ नामक प्रहसनमार्फत आफ्नो प्रस्तुति दिने भएका छन् । मिरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ आयोजना गरिएको कार्यक्रम बिहीबारदेखि मंसिर १८ गतेसम्म चल्नेछ।

त्यसबीचमा मंसिर १, ४, ५, ६, १२, १३, १७, १८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रहसन हुने आयोजकले जनाएका छन् । प्रहसनमा मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित कलाकारहरू किरण के.सी., राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभुषा बस्नेतलगायत हास्य कलाकारहरूले प्रस्तुति गर्नेछन् ।

मह जोडीले यसअघि प्रस्तुत गरेका लोकप्रिय प्रहसनहरू जस्तै यमलोक, प्यारालाइसिस, अंशबन्डा, विज्ञापन, श्राद्ध, नेपाल बन्द, रिमोट कन्ट्रोल, वडा नं. ३४, दुई सय पाँच, नाता र शपथ ग्रहण लगायत अझैपनि नेपाली हास्य क्षेत्रमा स्मरणीय रहेका छन् ।

हाल मदनकृष्ण श्रेष्ठ पार्किन्सन्स रोगबाट पीडित भए तापनि अभिनय, लेखन र गायनलाई भने निरन्तरता दिइरहेका छन्। उनले आफ्नो स्वास्थ्यले साथ दिएसम्म कलाकारिता क्षेत्रमा लागिरहने बताउँदै साथी हरिवंशलाई सधैं साथ दिने प्रतिबद्धता पनि सार्वजनिक रूपमा प्रकट गर्दै आएका छन्।

दश वर्षको अन्तरालपछि फेरि मञ्चमा एकसाथ आउने मह जोडीले पुरानो शैलीको हास्य–व्यंग्यलाई पुनर्जीवित गर्ने आयोजकको भनाइ छ । यो प्रहसनमा मनोरञ्जनसँगै सामाजिक सन्देशको समिश्रण हुनेछ भने दर्शकलाई हसाउँदै समाजप्रति नयाँ दृष्टिकोण राख्न प्रेरित गरिने जनाइएको छ। कान्तिपुर संवाददाता

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button