पहिला अभिभावक सुध्रिने कि बालबालिका ?
पहिला अभिभावक सुध्रिने कि बालबालिका ?
आँखुको सुसेली ०८१ मंसिर अंकबाट लिएको
रामकुमार थापा
मनोसामाजिक परामर्शकर्ता, नीलकण्ठ नगरपालिका,धादिङ
छोराछोरीको गुनासो आमाबाबुलाई कति हो कति । बिहान ओछ्यानदेखि बेलुका त्यही ओछ्यानमा नसुतेसम्म बालबालिकाले कति नकारात्मक गाली खानुपर्छ, त्यो बालबालिकालाई मात्रै थाहा छ ।
आफ्नै छोराछोरीदेखि विरक्तिएका, दुःखी र चिन्तित भएका अभिभावक धेरै छन्। आफू सुध्रिएर होइन, बालबालिका सुधार्न आफ्नै छोराछोरीलाई गर्ने गालीको भेराइटी पनि धेरै छन्। एकपटक सोचौं त, हामीले एक दिनमा छोराछोरीलाई गर्ने व्यवहार कस्तो छ ? ती छोराछोरी तपाईँकै त हुन् नि ? छोराछोरीलाई असल र ज्ञानी बनाउने नाममा अभिभावकले गर्ने व्यवहारले उनीहरूलाई मनोवैज्ञानिक असर पारेको छ । हामीले बिहानैदेखि आफ्ना छोराछोरीलाई के भन्छौं ? यसको त दिमाखै छैन’, यसले गरेर खाँदैन’, म मरेपछि यत्रो भाग खालास’, ।।।यस्तो सन्तान पाउनुभन्दा गर्भ नबसेको भए हुन्थ्यो’,बच्चा नहुँदो हो त कति खुसी र आनन्द होला’ ? जस्ता कति धेरै नकारात्मक गाली गर्छौं ।
कलिलो मनस्थितिमा यति धेरै गालीले कस्तो असर पारेको होला । छोराछोरीलाई राम्रो बनाउने बहानामा हामीले गर्ने हरेक व्यवहार जायज छन् त ? एकपटक गम्भीर भएर सोचौं । हामी बच्चालाई उमेर अनुसार डर र धम्कीमा राख्न सिपालु छौं । सानो उमेरमा बालबालिकालाई भूत आउँछ, वनझाँक्री आउँछ, बाघ आउँछ, जोगी आउँछ, भुरा लैजाने मान्छे आउँछ भन्छौं । त्यतिमात्रै हो र भात नखाए भूत आउँछ, बेस्सरी रोए पनि चोर आउँछ जस्ता कतिकति नकारात्मक कुराहरू गर्छौं । हामीले यसरी नकारात्मक व्यवहार गरेर हुर्काएका बच्चाहरूले सकारात्मक व्यवहार गर्छन् भन्ने तपाईँलाई लाग्छ ? बालबालिका खुल्ला आकाशका चरी जस्तै हुन् । उनीहरू आफूलाई स्वतन्त्र राख्न र हुन चाहन्छन्। छोराछोरीलाई असल बनाउने बहानामा अभिभावकहरूले अहिले गरेको व्यवहारले उनीहरूलाई थप प्रेसरमा राखेको देखिन्छ । पुरानो संस्कार अनुसार बालबालिका हुर्काउने अवस्था अहिले छैन । असल र ज्ञानी बनाउने हो भने आफ्ना छोराछोरीलाई राम्रो व्यवहार गर्नुपर्छ । हामीले जे रोप्छौं, त्यही फल्ने हो । बालबालिका अभिभावकका ऐना हुन् । हामीले गरेका व्यवहारहरू बालबालिकाले एक–एक नियालिरहेका हुन्छन्।
अहिले अधिकांश अभिभावकलाई आफ्ना छोराछोरीको बढी चिन्ता भएको देखिन्छ । आफ्नो छोराछोरीको नकारात्मक व्यवहारले गर्दा अभिभावकहरूलाई पनि समस्या भइसकेको छ तर पनि हामी आफ्ना नानीबाबुलाई कसरी हुर्काउने, बढाउने र पढाउने भन्ने ज्ञान नै छैन । सवारी साधन चलाउन त लाइसेन्स आवश्यक पर्छ । हामी आफ्ना छोराछोरीको भविष्य निर्धारण गर्ने जस्तो काममा भने बिना सीप हुर्काइरहेका छौं । समस्या बालबालिकामा होइन अभिभावकहरूमा हो। जन्मेदेखि नै हामीले गर्ने व्यवहारले बालबालिकाको मनस्थिति बनेको हुन्छ । उनीहरूलाई माया, हौसला, प्रेरणा, सहयोग र सद्भावको आवश्यकता छ । बालबालिका सुधार्ने होइन, उनीहरूको बानी–व्यवहार सुधार गर्ने हो। बालबालिकाको अगाडि तपाईँ रोलमोडल बन्नुभयो भने उनीहरूको समस्या आफै कम भएर जान्छ । अभिभावकहरूको तनाव सबै छोराछोरीले व्यहोर्नुपर्ने हुन्छ । वास्तवमा बालबालिकाले आफ्नो कुरा बुझ्ने, माया गर्ने र हौसला दिने अभिभावक पाएका छैनन्। बालबालिकाको मनोभावना बुझ्ने अभिभावकहरूको खाँचो छ । आफूले भनेको मान्दा ज्ञानी भन्ठान्ने र नमान्दा अटेरी भयो भनेर गुनासो गर्ने अभिभावकले आफ्नो बालापन कहिल्यै याद गर्नुभएको छ ? छोराछोरी सुधार्ने हो भने पहिला अभिभावकहरू सुध्रिनुपर्ने हुन्छ ।
बालबालिकाले बढी मोबाइल चलायो भनेर गुनासो गर्ने हामी अभिभावकले कति समय चलाउछौं ? कसरी हेर्छौं ? कुन समयमा हेर्छौं ? र के के हेर्छौं याद गर्नुहोस् त ? तपाईँले मोबाइल हेर्ने समय घटाउनु भयो भने हाम्रा बालबालिकाको मोबाइल हेर्ने समय आफै घट्छ । बालबालिकाको भावना बुझेर भन्दा पनि अभिभावकहरूको भावना अनुसार व्यवहार गर्ने गर्छौं । हामी तनावमा छौं, व्यस्त छौं, भविष्यको विषयमा प्रेसरमा छौं भन्दैमा साना बालबालिकालाई बढी दबाबमा राख्नु राम्रो होइन । बालबालिका राम्रो बनाउने हो भने आजैदेखि राम्राराम्रा व्यवहार र कुराहरू गर्दै जानुहोस्। सुरुवात गर्न अप्ठेरो हुन्छ तर आजैबाट एक एक वटा व्यवहारहरू सुधार गर्नुभयो भने एकदिन अवश्य राम्रो हुन्छ । एकैपटक सबै कुरा सुधार गर्न सकिंदैन तर स–सानो कुराहरूबाट परिवर्तन आजैबाट सुरु गरौं ।
बालबालिकाको बानी सुधार्न आफूले सुधार गर्नुपर्ने पक्षहरु
१. बालबालिकालाई स्वीकार गर्ने, पर्याप्त समय दिएर कुरा सुन्ने र रमाइलो गरेर उनीहरूको भावना अभिव्यक्त गर्ने वातावरण बनाउने ।
२. बालबालिकालाई परिवर्तन गर्न खोज्नुभन्दा वातावरणमा सुधार्नपहल गर्ने ।
३. बालबालिकाको अगाडि झुटो नबोल्ने, गराइ र भनाइमा अभिभावकहरूले अन्तर नराख्ने ।
४. बालबालिकको अगाडि अभिभावकले झगडा गर्ने, रिसाउने जस्ता काम नगर्ने ।
५. बालबालिकालाई अनुशासन थोपर्नुको साटो अनुशासन स्वीकार गर्नको लागि प्रेरित गर्ने ।
६. आफ्ना बालबालिकाको असल साथी बन्ने कोसिस गर्ने र साथीको जस्तो व्यवहार गर्ने ।
७. तिमीलाई केही समस्या परेमा म तिमीसँगै हुन्छु भनेर विश्वास दिलाउने ।
८. पढ्न, लेख्न र ज्ञानी हुँदा के हुन्छ राम्रोसँग बुझाउने । बालबालिकालाई महसुस गराउने ।
९. कुनै पनि कार्य गराउँदा स–सानो कामबाट सुरु गराउने । उनीहरूको बानी सुधार गर्नुपर्ने काम एकैपटक गर्नु हुँदैन ।
१०. सामाजिक अन्तरक्रियाका सीपहरू सिकाउने। जस्तैः नमस्कार गर्ने, धन्यवाद भन्ने, अरूले धन्यवाद भन्दा मुसुक्क हाँस्ने, गल्ती गर्दा माफ गर्नुहोला भन्ने ।
११. बालिबालिकाले प्रेरणा, हौसला, माया, सम्मान प्राप्त गर्ने वातावरणको सुनिश्चित गर्ने । बालबालिकाले गर्न सक्ने कामहरू तिमी गर्न सक्छौ र तिमीसँग त्यो क्षमता छ भनेर सम्झाइरहने ।
१२. पढ अनि खेल भन्नुको साटो पहिला खेल अनि पढ भन्न सुरु गर्ने । अभिभावकहरूसँगै बसेर पढ्न र लेख्नमा सहजीकरण गर्ने ।
१३. आफ्नो बालबालिका प्रतिको तीव्र अपेक्षा नराख्ने। उनीहरूको व्यवहारलाई स्वीकार गर्ने ।