Banner NewsBanner news (with photo)आजको फोसबुक फोटोगजुरी गाउँपालिकाताजा समाचारदेशफिचरफोटो फिचरमुख्य समाचारवाग्मती प्रदेशसमाचारस्थानीय तहस्थानीय समाचारस्वास्थ्य

बुढो शरीर,दृष्टिविहीन,गाउँघरको भिरालो बाटो,त्यसमाथि गरिबी

बुढो शरीर,दृष्टिविहीन,गाउँघरको भिरालो बाटो,त्यसमाथि गरिबी

Spread the love by sharing this post
अशोक श्रेष्ठ,धादिङ,
शनिबार गजुरी गाउँपालिका वडा नम्बर २, छेवाङको डुडेठाटी आधारभूत स्वास्थ्य केन्द्रमा स्वास्थ्य शिविर भएको थाहा पाएपछि ७ किलोमिटर परबाट उनी आँखाको उपचारबारे बुझ्न आइपुगिन् । ‘३५/४० साल भयो होला, मेरा दुई आँखाको काम यो लौरोले गरेको’, सबैभन्दा पहिला उनले आफ्नो कथा सुनाइन् ।
धादिङ छेवाङकी ६९ वर्षीय फूलमाया बिसुङ्खेले यी सबै चुनौतीमाझ एउटा लौरोको सहारामा घाँस-दाउरा गरेको तीन दशकभन्दा बढी भयो । नुनतेल किन्न तीन कोष परको बजारसम्म उनी लौरो टेकेरै पुग्छिन् । आँखा नदेखे पनि बनिबुतो र मेलापात नगरी चुल्हो बल्दैन ।
कहिल्यै उज्यालो नै नदेखेको भए संसार देख्ने रहर हुँदैनथ्यो होला’, डाक्टरसामु उनले भनिन्, ‘भगवान् पनि मप्रति किन यति कठोर भए, थाहा छैन । २७/२८ सालकी हुँदासम्म आँखा देखाएर ज्योति खोसे । मेरा आँखालाई अँध्यारोले छोप्यो । मेरो संसार अँध्यारो भयो ।
अर्काकै कुटोकोदालो गरेर खाने फूलमायाले बनिबुतो गरेको पैसाले विभिन्न अस्पतालसम्म पुगेर आँखा जाँच गराइन् तर डाक्टरले नसा सुकेकाले निको नहुने जवाफ दिएको उनले बताइन् । ‘डाक्टरले उपाय छैन भन्छन्’, उनले भनिन् ।
उनका आँखा सानोमा कमजोर थिए । तैपनि धमिलो-धमिलो देख्थिन् । विस्तारै उनका दुवै आँखा उज्यालोबाट टाढिँदै गए । त्यो बेला औषधि, उपचारको पहुँचमा पुग्न आर्थिक अवस्था बलियै हुनुपर्थ्यो । १८/२० वर्षको उमेरपछि उनको नजर मधुरो-मधुरो हुँदै गएको थियो । २६ वर्षको उमेरसम्म दिउँसोको चर्को घाम पनि धमिलो अनि पहेंलो-पहेंलो देखिन थाल्यो । त्यसको केही वर्षपछि उनका आँखाले अन्धकार अजमाए । उनी पूर्णतः दृष्टिविहीन बनिन् ।
बुढो शरीर,दृष्टिविहीन,गाउँघरको भिरालो बाटो,त्यसमाथि गरिबी
जन्मिँदै नदेख्ने भएको भए यो सांसारिक आवरणको शायदै मतलव हुन्थ्यो उनलाई । तर, आफ्नो किशोरवयमा उनले धमिलै भए पनि धेरै चिज देखिन् । गाउँघर, वनजङ्गल, श्रीमान्, सन्तानदेखि धेरै कुरा…, जसले उनलाई खुसी तुल्याउँथे ।
त्यसैले तिनलाई फेरि एक झलक देख्ने रहर छ फूलमायालाई । योभन्दा ज्यादा उनी आफ्ना नातिनातिनालाई आफ्ना आँखाले हेरेर मायाले सुमसुम्याउन चाहन्छिन् । तर, उनको यो चाहना पूरा हुनुको साटो अर्को चुनौती थपिँदै छ, उनले डर मानेजस्तै भयो भने फूलमायाका दुई नातिनीको समेत दृष्टि गुम्न सक्छ ।
‘७० वर्ष पुग्न लागेँ तर आँखा देख्न पाए हुन्थ्यो भन्ने लाग्छ । अझै के-के गर्थें जस्तो लाग्छ’, उनले भनिन्, ‘तर यो रोगले मलाई मात्र होइन, मेरा दुई छोरा, तिनका पनि छोराछोरीलाई पिरोलेको छ । अहिले मलाई आफ्नोभन्दा बढी पिर तिनेर (नातिनीहरू) को लाग्छ ।’
खासमा उनी तिनै नातिनातिनालाई दृष्टिविहीन हुनबाट जोगाउने उपाय खोज्दै स्वास्थ्य शिविरमा आइपुगेकी थिइन् ।
उनकै जस्तो रोगले दुई छोरा कृष्णबहादुर र जिल्लबहादुरको आँखाको ज्योति खोसिसकेको छ । अब यो रोगले जिल्लबहादुरका दुई छोरी उर्मिला र बिनिताको आँखा ताकिरहेको छ ।
आमा फूलमायाको साथ लागेर ४८ वर्षे कृष्णबहादुर र ४५ वर्षे जिल्लबहादुर पनि शिविरमा आइपुगेका थिए । उनीहरू दुवैको साहारा लौरो नै थियो । दुई छोराको समस्यामा डाक्टरले भन्ने कुरा सुन्न उनीहरूका ८० वर्षे बुबा पनि लौरो टेकेर छेउमै चुपचाप उभिएका थिए ।
‘बाआमाको सहारा हुनुपर्ने, आफैंलाई सहारा चाहिने भयो’, कृष्णबहादुर हैरानी व्यक्त गरे । दुवै भाइको समस्या उनीहरूकी आमाकै जसरी बढेको थियो । सुरुमा आँखा कमजोर, त्यसपछि धमिलो-धमिलो दृष्टि, पछि पूरै अन्धकार… ।
फूलमायाका कान्छा छोरा जिल्लबहादुरले करिब १० वर्षअघिदेखि आँखा देख्न छाडेका हुन् भने जेठा कृष्णबहादुरले पूर्णतः आँखा देख्न छाडेको ५/७ वर्ष भयो ।
दुवै भाइले आँखा देख्दासम्म घरमा बिहान बेलुकाको जोहो जसोतसो हुने गरेको थियो । आँखा सही सलामत हुँदा कृष्णबहादुरले भारतसम्म पुगेर मजदुरी गरेका थिए । तर, दुई भाइले आँखा देख्न छाडेपछि उनीहरूको आर्थिक अवस्था थप नाजुक बनेको छ ।
‘हामीले अर्काकै कमाएर चुल्हो बाल्ने हो । आफ्नो बारीमा फलेको मकै तीन महिना खाँदा सकिन्छ’, कृष्णबहादुरले भने, ‘अस्पताल पनि जानु मात्रै हो, ठूलो दाम हालेर उपचार गर्नुपर्छ भन्ने कुरा आयो भने चुप लागेर फर्किनुको विकल्प हामीसँग छैन ।
उनीहरूका बुबा ८० वर्षका भइसकेका छन्, जो आफैंमा अशक्त छन् । आँखा बन्द भए पनि बाध्यतावश आफूहरूले खेत खन्ने, रुख चढेर घाँस झार्नेलगायत काम गरिरहेको कृष्णबहादुरले सुनाए ।
हजुरआमा, काका, बुबा सबैले आँखा देख्न छोडेपछि पढाइ छोडेर नाति पुस्ता मजदुरीमा लागेको छ । कृष्णबहादुरका दुई छोरामध्ये एक बजारमा मजदुरी गर्छन् भने अर्का छोरा सार्वजनिक बसका चालक छन् । ‘खै अहिलेसम्म देखेकैले त होला बस कुदाइरहेको छ । तर, हाम्रोजस्तै अलिक उमेर ढल्केपछि देख्न छोड्ने हो कि भन्ने चिन्ता छ’, उनले भने ।
फूलमायाका कान्छा छोरा जिल्लबहादुरका दुई छोरी छन्, उर्मिला र बिनिता । परिवारका लागि अत्यासलाग्दो कुरा छ, यी दुई चेलीले पनि आँखा धमिलो देख्न थालेका छन् ।
जिल्लबहादुरलाई अब आफ्नो आँखाभन्दा बढी छोराछोरीको आँखा कसरी जोगाउने भन्ने ठूलो चिन्ता छ । तर, उनीहरूको आर्थिक अवस्थाभन्दा छोरीहरूको आँखाभित्र फैलिँदो अन्धकार ठूलो छ, जुन रोक्नु सम्भवतः उनीहरूको बसमा छैन । ’
जेठी उर्मिलाका आँखा निकै कमजोर भइसकेका छन् भने कान्छी ११ वर्षीया बिनिताले समेत आफूले मधुरो देख्ने गरेको बताउन थालेकी छन् ।
बुढो शरीर,दृष्टिविहीन,गाउँघरको भिरालो बाटो,त्यसमाथि गरिबी
आँखा कमजोर भएकै कारण उर्मिलालाई पढ्नमा सास्ती हुने गरेको जिल्लबहादुरले बताए । ‘के भयो भयो, आमादेखि हामी दुई भाइ अनि हाम्रा छोराछोरी सबैलाई आँखाको रोगले पिरोलेको छ’, उनले भने, ‘कसलाई गुहार्ने, कसरी गुहार्ने केही थाहा छैन ।’
उनले आफूहरूले परवानीपुरदेखि काठमाडौंका तिलगङ्गालगायत आँखा अस्पताल चहारे पनि उपाय नभेटेको बताए । ‘हाम्रा आँखालाई त अँध्यारोले लपेट्यो, छोराछोरी अनि तिनका छोराछोरीले यो नियती भोग्न नपरोस् भन्ने चाहेका छौँ । तर, कतै कुनै उपाय देख्न सकिरहेका छैनौँ ।’
उनले छोरीहरूको आँखाको सामान्य जाँच गराए पनि आर्थिक कठिनाइकै कारण विशेषज्ञ चिकित्सकसम्म पुर्याउन नसकेको बताए ।
फूलमाया सोध्दै थिइन्, ‘हाम्रो नभए पनि नातिनीहरूको आँखालाई जोगाउन सकिँदैन डाक्टर साहेब ?’
शिविरमा आएका तीन आमाछोरालाई डाक्टरले काठमाडौं पुगेर विशेषज्ञ चिकित्ससँग परामर्श गर्न सुझाव दिए । ‘प्रविधिको प्रयोग गरी नहेरेसम्म ठ्याक्कै यो भएको भनेर थाहा पाउन मुस्किल हुन्छ’, फूलमाया र उनका दुई छोराको आँखा जाँच गरेका जेनेरल फिजिसियनले भने, ‘रोग वंशाणुगतजस्तो देखिन्छ । मधुमेहका कारण पनि बिस्तारै मोतिबिन्दु, जलबिन्दु हुन्छ । तर ठ्याक्कै यही भएको भनेर बुझ्न टेस्टहरू गराउनुपर्छ ।’
आँखाको नसा सुकिसकेको अवस्थामा भने रिकभर गर्न असम्भव हुने उनले बताए । फूलमायाका किशोरी नातिनीहरूको हकमा भने उपचार सम्भव हुने उनको भनाइ छ । ‘सुरुमा धादिङ अस्पताल पुगेर छोरीहरूको आँखा परीक्षण गरी रोग के हो र कहाँसम्म पुग्यो भनेर पहिचान गर्न हामीले उहाँलाई सुझाव दिएका छौं, काठमाडौंको अस्पतालमा उपचार गर्न सकिन्छ’, उनले भने ।
छेपाङसमेत पर्ने गजुरी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष द्रोण कडेलले फूलमायाका नातिनीहरूको आँखाको ज्योति जोगाउन उपचारमा सघाउने प्रतिबद्धता जनाए । फूलमायाको जस्तै विपन्न परिवारलाई स्वास्थ्य सेवाका सघाउ पुर्याउन स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने काम पनि तीव्र पार्ने उनले बताए ।
चाहना
फूलमाया र उनका दुई छोरा अब आफ्नो उपचारभन्दा पनि छोराछोरीको उपचारका लागि बढी चिन्तित छन् । स्कुल पढ्दै गरेका छोरीहरू अनि मजदुरी गरेर घरको चुल्हो बाल्न सघाइरहेका छोराहरूको ज्यति जोगाउन स्थानीय सरकारदेखि अरु मानिसले पनि सकेको सहयोग गरिदिऊन् भन्ने उनीहरूको चाहना छ । फूलमाया भन्छिन्, ‘हाम्रो त रहरका दिन गए, भर्खर हुर्किँदै गरेका नातिनीहरूलाई संसार देखाइरहेको उज्यालो नजाओस्, सक्नेले सहयोग गरिदिऊन् भन्न चाहन्छु’
बुढो शरीर,दृष्टिविहीन,गाउँघरको भिरालो बाटो,त्यसमाथि गरिबी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button