Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिसमाचार

देशभर उपचुनावका लागि ४४ पदमा ४१० जनाको उम्मेदवारी दर्ता

देशभर उपचुनावका लागि ४४ पदमा ४१० जनाको उम्मेदवारी दर्ता

०८१ मंसिर ३,सोमबार,

यही मङ्सिर १६ गते हुने पालिका उपचुनावका लागि देशभर हुन लागेका ४४ पदमा ४१० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगको अनुसार ६६ जना महिला, ३४२ जना पुरुष र अन्य दुई जना छन् । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र भोलि बेलुकी ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर गरी ८ पदमा ३५ महिला र ४८ पुरूषसमेत गरी ८४ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ जना महिला, २९३ पुरुष र एक अन्य गरी ३२३ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगको अनुसार सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ को वडा अध्यक्ष पदमा २१ जनाको उम्मेदवारी परेको छ भने सबैभन्दा कम रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष तथा बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्ष पदमा ३/३ जनाको मात्रै उम्मेदवारी परेको छ ।

पर्सि ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । यही मङ्सिर १६ गते बिहान ७ देखि बेलुकी ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button