धादिङमा बैशखा यता मात्रै डेंगु ४९३ जनामा र स्क्रव टाईफस १७१ जनामा संक्रमण देखियो
धादिङमा बैशखा यता मात्रै डेंगु ४९३ जनामा र स्क्रव टाईफस १७१ जनामा संक्रमण देखियो
२०८१,कात्तिक,बिहीबार ८,
पछिल्लो समय धादिङमा डेंगु र स्क्रव टाईफस संक्रमणले तीव्र गति लिएको छ ।
बैशखा यता मात्रै धादिङमा डेंगु ४९३ जनामा र स्क्रव टाईफस १७१ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार गत सोमबारमात्रै धादिङमा ५ पुरुष र ३ महिलामा गरी ८ जनामा डेंगु र ५ पुरुष र २ महिलामा स्क्रव टाईफसको संक्रमण देखिएको जनस्वास्थ्य धादिङले जनाएको छ । गल्छीमा मात्रै ८ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो भने, नीलकण्ठमा २, ज्वालामुखी र सिसद्धलेककमा ११ जनामा स्क्रव टाईफस संक्रमण पुष्टि भएको छ ।
स्क्रब टाइफस ओरिएन्टा सुसुगामुसी नामक जीवाणुबाट हुने सङ्क्रामक रोग हो । साधारणतया यो जीवाणुले मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाइने किर्ना (माइट्स) लाई सङ्क्रमण गर्छ । सङ्क्रमित किर्नाले टोकेको मुसा वा जनावर मानिसको सम्पर्कमा आएर शरीरमा टाँसिए वा टोकेमा स्क्रब टाइफस सर्ने गरेको छ । यो रोगबाट सङ्क्रमित मानिसमा उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, पखाला लाग्ने, श्वास फेर्न गाह्रो हुने, टाउको, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा देखिने र टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण जस्ता स्क्रब टाइफसका लक्षणहरु हुन ।
डेंगु ज्वरो अरु मौसमी ज्वरो जस्तै हो । डेंगु भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्दछ । उच्च ज्वरो आउनु, जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु, आँखाको गेडी दुख्नु, बेस्सरी टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु जस्ता डेंगुका लक्षणहरु हुन ।
यस रोगको सङ्क्रमणबाट जोगिन आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने, पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने, दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने र पूरै शरिर ढाक्ने लुगा लगाउन,मुसा तथा सङ्क्रमित जनावरसँग टाढा रहने जस्ता सावधानी अपनाउन स्वास्थ्य कार्यलय धादिङले आग्रह गरेको छ ।