ताजा समाचारदेशमुख्य समाचारराजनीतिसमाचार

उपचुनावको माहौल बढ्यो,४४ पदका लागि उपचुनाव हुनेछ

उपचुनावको माहौल बढ्यो,४४ पदका लागि उपचुनाव हुनेछ

निर्वाचन आयोगका अनुसार मङ्सिर १६ मा जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिकाको अध्यक्ष दुई, उपाध्यक्ष तीन, वडाध्यक्ष ३५, नगरपालिकाको मेयर र उपप्रमुख एक/एक गरी ४४ पदमा उपचुनाव हुनेछ ।

भोलि उम्मेदवारको मनोनयन दर्ता, ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ ।यसैबीच उपचुनावका लागि ३८ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् । ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना र उपचुनाव हुने सम्बन्धित पालिका तथा वडाको केन्द्र रहेको ठाउँमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।

मङ्सिर १६ गते रिक्त पालिकामा हुने उपचुनावका लागि प्रमुख दल उम्मेदवारको अन्तिम टुङ्गो लगाउन जुटेका छन् । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले रिक्त रहेका ४४ मध्ये ४२ पदमा उम्मेदवारको टुङ्गो लागेको र बाँकी दुई पदको पनि आज अन्तिम निर्णय हुने जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौको कीर्तिपुर नगरपालिकामा मेयर र एक वडाध्यक्ष पदका लागि उम्मेदवार निर्णय हुन बाँकी छ । कांग्रेसबाटै मेयरमा जितेका राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुर नगरपालिकामा उपचुनाव हुन लागेको हो । तर कांग्रेसलाई कीर्तिपुरमा मेयरको उम्मेदवार तय गर्न सकस देखिएको छ ।

उपचुनावका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । सत्तामा सहकार्य भए पनि उपचुनावमा तालमेल वा सहकार्य नभएको कांग्रेस र एमालेले जनाएका छन् । सरकारबाहिर रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालले पनि छुट्टाछुट्टै उम्मेदवारी दिने गरी तयारी गरेका छन् ।

नेकपा (एमाले) ले सबैजसो उम्मेदवारको टुङ्गो लगाए पनि कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले केही बाहेक उम्मेदवार चयन गर्न सकेका छैनन् ।

माओवादीले कीर्तिपुरको मेयरमा प्रा.डा.शिवशरण महर्जन, एमालेले डा.सुरेन्द्र मानन्धर र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवारमा सिफारिश गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पनि उम्मेदवार चयनमा सकस परेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button