जीवन रक्षाका लागि रगतको अपरिहार्यता
जीवन रक्षाका लागि रगतको अपरिहार्यता
आँखुको सुसेली ०८१ मंसिर अंकबाट लिएको,
लेखक नारायण कुमार श्रेष्ठ
नेपाल रेडक्रस सोसाइटी,धादिङ,
रगत मान्छेको जीवनको आधार हो । रगत नभए जीवनको अस्तित्व कल्पना पनि गर्न सकिंदैन । अशक्त, घाइते र विशेषतः शल्यक्रिया गर्नुपर्ने विरामीहरुका लागि रगतको आवश्यकता अनिवार्य जस्तै हुन्छ । ठूला र सम्वेदनशील शल्यक्रिया तथा दुर्घटनाग्रस्त बिरामीहरुका लागि रगत अनिवार्य हुन्छ ।
यस्तो रगत उपलब्ध गराउने सेवा नेपालमा वि.सं. २००० सालमा वीर अस्पतालबाट भएको हो । पहिलो पटक लक्ष्मी ब्लड बैंक स्थापना गरी घाइते तथा बिरामीलाई सेवा दिएर रक्तसञ्चार सेवा शुभारम्भ भएको थियो । नेपालमा पहिलो रक्तदाता समाजसेवी दयाविर सिंह कंसाकार हुन् । स्थापना भएको वर्षमा १५७ पिन्ट रगत संकलन गरी बिरामीहरुलाई सेवा दिएको थियो । रगत र रक्ततत्वकोस्तर बृद्धिसँगै २०२३ साल श्रावण १२ गते नेपाल रेडक्रस सोसाइटीले रक्त सञ्चार सेवा स्थापना गरी आफ्नो सेवा शुभारम्भ गरेको हो । हाल ७३ वटा जिल्लामा १२० सेवा केन्द्र स्थापना गरी घाइते तथा बिरामीहरुलाई सर्वसुलभ माध्यमबाट रक्त उपलब्धताको सेवा प्रदान गर्दै आएको छ ।
मानव जीवनलाई चलायमान बनाएर रगतले हरक्षण, हरसमय क्रियाशील बनाइरहेको हुन्छ । थोपा थोपाको माध्यमबाट जीवनलाई निरन्तरता दिएको हुन्छ । २१ औं शताब्दिमा वैज्ञानिकहरुले मानवका अनेक अङ्गहरुको प्रत्यारोपणको सफलता प्राप्त गरेका छन् । कृतिम अङ्गहरु निर्माण पनि भएका छन् । अन्य प्राणीहरुका अङ्गहरु मानवलाई प्रत्यारोपण गर्ने प्रयास भइरहेका छन् तर आजको दिन सम्मको अथक प्रयासबाट पनि रगतको विकल्पमा कृतिम रगत बनाउन सकेका छैनन् । त्यसैले रगतको विकल्प रगत नै हो र त्यो पनि मानवका लागि मानव रगत नै हो अरुबाट सम्भव छैन ।
यसको अर्थ पैसा वा सम्पत्तिले रगतको आवश्यकता पूरा हुने रहेनछ । त्यसका लागि स्वयम्सेवी रक्तदाताहरु तयार हुनुपर्नेछ । आधुनिक रक्तसञ्चार सेवा मानव जीवनको लागि मेरुदण्डको रुपमा लिनुपर्ने देखिन्छ । जब अस्पतालमा घाइते बिरामीहरुलाई रगतको माग हुन्छ, त्यो बेलामा भगवानरुपी स्वयम्सेवी रक्तदाताहरुले स्वतःस्फुर्त रुपमा रक्तदान गरेर बिरामीको जीवनको रक्षा गर्नुपर्छ र गरिरहेका पनि छौं । स्वयम्सेवी रक्तदाताहरु भनेको जीवित देवता हुन् उनीहरुलाई उत्प्रेरणा, उत्साह र सम्मान गर्नुपर्छ ।
धादिब जिल्लामा पनि २०६८ साल भाद्र २७ गतेबाट विधिवत रुपमा नेपाल रेडक्रस सोसाइटी धादिब जिल्ला शाखाले रक्तसञ्चार सेवा स्थापना गरी सेवा दिदै आएको छ । धादिब अस्पताल धादिबको १५ वेडबाट ५० हुँदै हाल १०० बेडमा स्तर उन्नति भइसकेको छ । सेवा बिस्तारसँगै शल्य चिकित्सा सेवा बृद्धिको कारण धादिब अस्पताल धादिबमा दैनिक ७ देखि १० पिन्ट रगत माग भैरहेको छ । हाल धादिब अस्पताल धादिबमा सुत्केरी, मृगौला, हर्निया, एपेन्डिसाइट लगायत अन्य जटिल शल्यक्रिया तथा डाइलोसिस सेवा उपलब्ध छ र त्यसका लागि रगतको माग उच्च भइरहेको छ ।
हालसम्म सौभाग्यवश धादिबमा कुनै पनि घाइते तथा बिरामीहरुले रगतको अभावको कारण भौतारिरहनु परेको छैन । यो सबै नियमित स्वयम्सेवी रक्तदाताहरुको सहकार्य र मानवीय समर्पणले गर्दा सहज वातावरण सृजना भएको छ । २०६८ साल भाद्र २७ देखि २०८१ कार्तिक १० गतेसम्म २०,६८३ जना नियमित स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरेका छन् ।
जनसब्ख्या वृद्धि, सहरीकरणको असन्तुलनको कारण पनि रगतको आवश्यकता र माग चुलिँदो छ । यसका लागि रक्तदाता उत्प्रेरणा कार्यक्रम बढाउनु पर्ने आवश्यकता छ । रक्तदानका सन्दर्भमा अनेक नकारात्मक भ्रम पनि छ । त्यसका लागि सचेतना कार्यक्रमको अभाव छ । युवायुवतीहरु वैदेशिक रोजगारीको लागि पलायन हुँदा रक्तदाताको अभाव हुँदै गएको छ । त्यसमा पनि रक्तदाताहरु ४० वर्ष कटेपछि नियमित औषधिको प्रयोग गर्ने हुनाले नियमित रक्तदाता पनि घट्ने सम्भावना छ । खानपान र शारीरिक व्यायम अभावको कारण थप रगत प्राप्ति चुनौती भएको छ । रक्तदान अभियानलाई निरन्तरता दिनको लागि एक घर एक रक्तदाता अभियान सञ्चालन गर्दै १८ वर्ष पुगेको युवायुवतीहरुलाई जन्म दिनको अवसरमा केक काटेर जन्मउत्सव मनाउने हैन कि शुभकार्यको अवसरमा रक्तदान गर्ने संस्कृति बसाल्नु पर्नेछ । जिल्लामा रहेका स्थानीय तहहरुले रक्तदान कार्यक्रम र रक्तदान उत्प्रेरणाको लागि रक्तदान गर्ने संघसंस्थाहरुलाई रक्तदाता च्भाचभकजmभलत एवम् प्रोत्साहनको लागि रकम विनियोजन गरी रक्तदान कार्यक्रमहरु बृद्धि गरी मानवीय जीवन रक्षाका लागि हातेमालो गर्नु अपरिहार्य छ ।
समग्र रुपमा धादिब जिल्ला भित्र दिवस, उत्सव, महोत्सवको अवसरमा राजनैतिक दल, वित्तिय बैंक तथा सहकारी, क्याम्पस, विद्यालय र जिल्ला भित्रका सक्रिय विभिन्न संघसंस्थाहरुले स्वस्फुर्त रुपमा आफ्नो वार्षिक पात्रोमा १ दिन रक्तदान कार्यक्रम गरी मानवीय सेवाका लागि सामाजिक उत्तरदायित्व बहन गरिरहेका छन् । अब उप्रान्त पनि मानवीय सेवाका लागि रक्तदान अभियानलाई सबैले निरन्तरता दिनुपर्ने देखिन्छ । अझै यस्ता कार्यक्रमहरु ज्यामितीय आँकडामा विकास गर्नुपर्छ । तबमात्र रक्तदान सर्वसुलभ हुनेछ ।
ब्लड बैंक यस्तो बैंक हो जहाँ तपाईँले हस्ताक्षर गरेर चेक काटी रहनु पर्दैन । तपाईँले दिएको रगत घाइते तथा बिरामीहरुलाई थोपा थोपाको माध्यमबाट सिंचित भइरहेको हुन्छ । तसर्थ धर्म, जाति, लिङ्ग, राजनैतिक रङ्ग, सम्प्रदाय सबैलाई एउटै मालामा समावेश गर्न सक्ने सफल माध्यम रगत र रक्तदाता भएका छन्। नियमित रक्तदाताहरुले धार्मिक रुपमा आफ्नो आस्था विश्वास भरोसा भए तापनि चार धाम जान र लाखबत्ती बालिरहन पर्दैन । घाइते तथा बिरामीहरुले नयाँ जीवन पाएर दिएको आशिर्वाद नै काफी हुनेछ । हाल रक्तसञ्चार सेवा केन्द्र धादिबमा होल ब्लडको मात्र सेवा प्राप्त छ । समय सापेक्ष सर्वसुलभ र मर्यादित विश्वासनीयतालाई कायम गर्दै पि.आर.पि., एफ.एफ.पि., डब्लु.वि.सि., आर.सि.सि. लगायतको रक्ततत्वहरुको आधुनिक मेशिनबाट उत्पादन गरेर सेवा बिस्तार गर्नुपर्ने देखिन्छ । यसको लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारका साथै सरोकारवाला निकायहरुले उपकरण उपलब्ध गराइ सहज वातावरण बनाउनु पर्ने देखिन्छ । हाल धादिब जिल्लामा क्यान्सर, मृगौला रोग,मुटुरोग, थालेसिमिया, सिकलसेल, एनिमिया, हेमोफेलिया, लिउकेमिया, रक्तक्यान्सर, डेंगी, कोरोना र सडक दुर्घटना लगायत दीर्घरोगको कारणले गर्दा रगतको माग उच्च रहेको छ । रगतको मागलाई सर्वसुलभ माध्यमबाट उपलब्ध गराउनको लागि नियमित रक्तदाताहरुले भोक निन्द्रा तिर्खा थकान केही नभनेर स्वस्फुर्त रक्तदान अभियानमा लामबद्ध भएका छन्। स्वास्थ्यले साथ दिएसम्म रक्तदान अभियानमा निरन्तरता रहिरहने छ । हाल नेपालमा वार्षिक रुपमा ४ लाख ५० हजार पिन्ट रगत माग भएको छ ।
सर्वसुलभ मर्यादित गुणस्तरिय रगत तथा रक्ततत्व मानवीय मूल्य मान्यता सहित सुरक्षित र प्रभावकारी रुपमा बिरामीहरुले पाउनु पर्दछ । रगत तथा रक्ततत्व अभियानमा एकल प्रयासबाट मात्र सफल नरहेको हुँदा यो महान् अभियानमा सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक सोचका साथ हातेमालो गर्दै अगाडि बढेको अवस्थामा कुनै पनि घाइते वा बिरामीहरुले रगत तथा रक्ततत्व अभावको कारण मृत्युवरण गर्नुपर्ने छैन ।
त्यसैले रक्तदान जीवन रक्षाका लागि महायज्ञ हो। हामी सबैले रक्तदानलाई जीवनदान ठानेर यस अभियानमा भएका भ्रमहरु चिर्दै, स्वयमसेवी रक्तदाताहरु विकास गर्ने र उनीहरुलाई सम्मान गर्ने परम्पराको संस्कृति प्रारम्भ गर्नु आजको आवश्यकता हो ।