फोहोरबाट मोहर बनाउदै धादिङको नीलकण्ठ नगरपालिका
फोहोरबाट मोहर बनाउदै धादिङको नीलकण्ठ नगरपालिका
सुशीला विश्वकर्मा धादिङ
टन्टलापुर घाम तात्तिएको सडक अनि अनगिन्ती सवारीहरू ओहोरदोहोर गरिरहेका । त्यही सडकको तल्लोपट्टि चारकोठे पक्की भवन छ । जसमा सेतो ब्यानरमा कालोे र रातो रंगले लेखिएको थियो– कम्पोष्ट मल उत्पादन केन्द्र जसभित्र थिए, शिरमा ढाका टोपी पहिरिएको एकजना प्रौढ खुट्टामा बाक्लो कालो बुट हाफगन्जी र मुखमा माक्स लगाएका ।हातमा कालो चप्पल लिएर उनी काममा तल्लीन थिए । उनी रहेछन्, धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहका वीरबहादुर कार्की । उनले फोहोरलाई जीविकाका माध्यम बनाइरहेका छन् ।उनलाई नचर्को घामको पर्वाह थियो । नत बर्खेभेलसरी बगिरहेको सपनाको । हुन पनि उनी पसिनाले निथु्रक्क भिजेका थिए । कपडाहरू शरीरमा लपक्कै टाँसिएका थिए ।
नीलकण्ठ नगरपालिकाको फोहोर बोक्ने गाडीले कुहिने फोहोर कारखानामा बिहान ८ देखि ९ बजेभित्र ल्याइदिँदो रहेछ । गाडीले फोहोर झार्दा नझार्दै उनको दिनचर्या सुरू भइसक्छ ।उनका लागि प्राङ्गारिक मल बनाउने काम नौलो होइन । उनले आफ्नै घरमा पनि प्राङ्गारिक मल बनाउँदै आएका रहेछन् । आफूनो हातमा भएको परम्परागत ज्ञान–सीपमा आधुनिक प्रविधि र त्यहीअनुसारको मिहिनेत मिसाउँदा झन् गुणस्तरको प्राङ्गारिक मल उत्पादन भइरहेको उनले बताए ।उनले प्रविधिबाट मल तयार गर्छन् । कुुहिने फोहोरलाई मेसिनमा काट्छन् । धुल्याउँछन् । त्यसपछि काटेको फोहोरलाई कुहाउन एमवान भन्ने एउटा झोल छर्किन्छन् । बढी लेदोपन आउननदिन धान कुटानीपिसानी गर्ने मिलबाट ल्याएको भुस मिसाउँछन् । ‘त्यसपछि छिटो ब्याक्टेरिया उत्पादन गर्नको लागि हावाआवात जावत हुने प्लास्टिकको क्रेटमा राख्छु,’ उनले प्राङ्गारिक मल बनाउने विधि सुनाउँदै गए,‘जसले कम्पोष्टिङ गर्छ । त्यसलाई तीनतीन दिनमा तापक्रम परिक्षण गरिरहनु पर्छ ।’त्यसरी राखेको २८ दिनदेखि एक महिना भएपछि बाहिर निकालेर जालीमा चाल्नुपर्ने रहेछ ।त्यसपछि बल्ल कम्पोष्ट मल पूर्णरूपमा तयार हुन्छ । योे सबै प्रक्रिया पूरा गरेर उनले फोहोरबाट कम्पोष्ट मल बनाउँदै आएका छन् ।
अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल परियोजनासँगको सहकार्यमा नीलकण्ठ नगरपालिकाले फोहोरलाई मोहर बनाउने अभियान सुरू गरेपछि अहिले कार्कीले आफ्नै ठाउँमा रोजगारी पाएका छन् । यही कामबाट उनको गुजारा चलेको छ । तयार नेपाल परियोजनाले नीलकण्ठ नगरपालिकाको फोहोरमैला व्यवस्थापनको क्षेत्रमा पनि काम गर्ने भएपछि नगरपालिकाले सहकार्य गरेको नीलकण्ठ नगरपालिका खानेपानी तथा सरसफाइ स्वच्छता शाखाका प्रमुख शिव रानाले जानकारी दिए । ‘तयार नेपाल परियोजनाका लागि ‘ब्लु वेष्ट टु भ्यालु’ मार्फत् आएको विज्ञहरूले नगरपालिकाबाट दैनिक कुहिने र नकुहिने फोहोर कति संकलन हुन्छ त्यसको निरीक्षण गर्नुभयो,’ उनले भने, ‘त्यसपछि प्रत्येक टोल–टोलमा गएर फोहोर वर्गीकरणबारे जानकारी दिइयो । अरू जनचेतना कार्यक्रमहरू पनि सञ्चालन गरेर प्राङ्गारिक मल बनाउने काम सुरू भयो ।’ गोठेमल भन्दा कम्पोष्ट मल बालीको लागि निकै उपयुक्त रहेको उनले बताए । यसको माग उच्च रहेको पनि उनको अनुभव छ । ‘घरायसी मल जस्तो अवस्थामा पनि रहने भयो ।त्यसमा पोषक तत्त्व छ कि छैन भनेर कुनै जाँच–परीक्षण हुँदैन,’ उनले भने, ‘कम्पोष्ट मलमा भने विरूवाको लागि आवश्यक पर्ने सबै पोषक तत्त्वहरूको प्रयोगशलामा परीक्षण गरिएको हुनाले घरायसी मल भन्दा यो मल नै प्रभावकारी हुन्छ ।उनले मलको आर्थोनिक र कोलीफर्महरू परीक्षण गरेको बताए ।
जसमा मानव स्वास्थ्यलाई हानी हुने कुनै पनि तत्त्वहरु नदेखिएको उनले बताए । फोहोरलाई मोहरमा रूपान्तरण गर्न धादिङकै टोल विकास संस्था महासंघ पनि सहयोग गर्दै आएको छ । संस्थाले प्रत्येक टोलमा फोहोर वर्गीकरणबारे सचेतनाका कामहरू सञ्चालन गर्दै आइरहेको टोल विकास संस्था महासंघ धादिङका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए । त्यस्तै ठाउँ–ठाउँमा सडक बत्तीहरु पनि राख्ने कामहरू गरिरहेको उनले बताए ।फोहोर व्यवस्थापनको पक्षमा नगरपालिकाले राम्रो कामको सुरूआत गरेको उनले बताए । एक त सहज ढंगले फोहोर व्यवस्थापन हुने र अर्को आयआर्जनसँग जोडिने र त्यसमाथि गुणस्तरीय मलसमेत बन्ने हुँदा नगरपालिकाको काम प्रभावकारी हुने उनको बुझाइ छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ की विमला कोइरालाले नर्सरीमा तरकारी लगाउन१५÷१५ किलोको दुई बोरा कम्पोष्ट मल लगिन । उनले अरू समयमा गाईवस्तुकै मल प्रयोग गर्दै आएकी थिइन् ।
गोठे मल प्रयोग गर्दा बाली नसप्रिएर हैरान भएको उनले सुनाइन् । कम्पोष्ट मल प्रयोग गर्न थालेपछि उनको अनुभव अर्कै छ ।नगरपालिकाले कम्पोष्ट मल बनाएको छ भन्ने थाहा पाएँ,’उनले भनिन्, ‘परीक्षण गर्न र सजिलोको लागि कम्पोष्ट मल लगेँ । टनेलमा कम्पोष्ट मल राखेर तरकारी लगाउदा ९० प्रतिशत विरूवाहरु उम्रिए,’ उनले अनुभव सुनाउँदै भनिन्, ‘गाईवस्तुको मल प्रयोग गर्दा कीरा लाग्ने, धमिराले खाने, फेद कुहिने जस्ता समस्या हुन्थ्यो । कम्पोष्ट मल राखेपछि त्यो समस्या हटेको छ ।’ कम्पोष्ट मल कारखाना सञ्चालन गरेको दुई महिना पूरा हुन लाग्यो । नीलकण्ठ नगरपालिकाले वडा नम्बर ३ स्थित सदरमुकाम बजार क्षेत्रका वडा नम्बर ४, १२ र ८ को फोहोर उठाउँदै आएको छ । नगरपालिकाले दैनिक रूपमा चार टन फोहोर संकलन गर्छ । भान्साजन्य लगायत ३० प्रतिशत कुहिने फोहोर कारखानामा आउँछ । त्यसबाट अहिले दैनिक रूपमा ५०÷६० केजी प्राङ्गारिक मल उत्पादन हुँदै आएको छ । नगरपालिकाको दैनिक उत्पादन गर्ने लक्ष्य भने एक सय केजी हो । सुरूआती चरणमा स्थानीयहरूमा फोहोर वर्गीकरण बानीको विकास भइसकेको छैन।
त्यसकारण क्षमता अनुसारको मल तयार पार्न नसकिएको उनले बताए । हालसम्म १५ सय केजी मल पूर्ण रूपमा तयार भइसकेको छ ।तथापि सुरूआत अत्यन्तै राम्रो भएको शिव राना बनाउँछन् । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ की नानु भण्डारीले घरबाट कुहिने र नकुहिने फोहोर छुट्याएर पठाउने गरेकी छिन् । ‘पहिल्यैदेखि नै घरबाट उत्पादन हुने कुहिने फोहोरलाई कौसी खेतीमा मल बनाएर राख्ने गरेको थिएँ । त्यही कारणले गर्दा पनि कुहिने र नकुहिने फोहोर छुट्याउन मलाई समस्या भएन । केही समय अगाडी नीलकण्ठ नगरपालिकाले तयार नेपाल मार्फत् ब्लु वेष्ट टु भ्यालु काठमाडौंको प्राविधिक सहयोगमा कम्पोष्ट मल बनाउने तालिम दिएकोले झन फोहोर छुट्याएर मल बनाउन सहज भएको छ,’ उनले भनिन्, ‘फोहोर वर्गीकरण गरेर नराख्दा घरमा दुर्गन्ध फैलिने समस्या थियो । अहिले त्यो समस्या समाधान भएको छ । नीलकण्ठ नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ८ का अध्यक्ष प्रकाश श्रेष्ठले उत्पादन केन्द्रबाट खुद्रामूल्य ४० रुपैयाँ प्रतिकेजी र होलसेल मूल्य ३० रुपैयाँमा कम्पोष्ट मल बिक्री भइरहेको बताए । नगरवासीलाई भने प्रोत्साहन स्वरूप ५० प्रतिशत छुटमा बिक्री गरिएको उनले बताए ।
‘अहिले नर्सरी र कौसी खेती गर्नेहरूले मल लैजाने गरेका छन् । कम्पोष्ट मल बनाउन तालिम र सामग्री तयार नेपाल मार्फत ब्लु वेष्ट टु भ्यालु काठमाडौंको प्राविधिक सहयोग रहेको छ,’ उनले भने,‘यसका लागि आवश्यक लगानी परियोजना मार्फत नीलकण्ठ नगरपालिकाले नै गरिरहेको छ ।कुहिने फोहोरलाई मोहरमा रूपान्तरण गरेपछि नगरपालिकाको आम्दानीको स्रोत बनेको उनले बताए ।स्थानीयवासीलाई कुहिने फोहोरले धेरै समस्या बनाएको पनि उनले बताए ।प्राङ्गारिकमल उत्पादन गर्न थालेपछि थोरै भएपछि रासायनिक मल प्रतिस्थापन गर्न सघाउ पुगेको उनले बताए । कम्पोष्ट मल व्यवस्थापनको जिम्मा नगरपालिकाले सबै वडालाई दिएको छ । सोही अनुसार वडा र नगरपालिकाले कृषि उपजलाई पनि बजारीकरण गर्ने योजना बनाएको छ । जसबाट उत्पादन भएको फोहोरलाई कम्पोष्ट बनाउन सकिने उनले बताए । नगरपालिकाले उत्पादन भएका मललाई नियमित बिक्रीवितरण गर्ने मेकानिजम ९संयन्त्र०बनाउने र नगरपालिका तथा वडा समितिले अपनत्व लिएर दीर्घकालीन रुपमा लैजाने उनले बताए । ‘यसलाई व्यवस्थापन गर्न एउटासमिति बन्छ,’उनले भने,‘बिक्री वितरण अन्य एग्रोभेटहरू मार्फत पनि गरिने छ ।
’अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल परियोजनाले सुरूआत गरिदिएको कामलाई नगरपालिकाले निरन्तर एवम् दिगो रूपमा सञ्चालन गर्ने प्रवक्ता श्रेष्ठले बताए । कम्पोष्ट मल कारखानालाई दिगो बनाउन नगरपालिका आफैले सञ्चालन गर्ने योजना बनाएको छ भने वडाले व्यवस्थापन र बजारीकरणको लागि जिम्मा लिने तयारी भइरहेको उनले बताए । नगरपालिकामा व्यवस्थित फोहोर विर्सजन केन्द्र नहुँदा त्यस आसपासका र फोहोर बगेर जाने ठाउँका स्थानीयहरूले पटक पटक आन्दोलन गर्दै आएका थिए ।अहिले कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन थालेपछि नगरपालिकाको फोहोर व्यवस्थापनमा ६० प्रतिशत भार कम भएको छ । कम्पोष्ट मलले बोट विरुवालाई फाइदा गर्नुका साथै माटोको उर्वराशक्ति पनि बढाउन मद्दत पुगेको श्रेष्ठले बताए । नगरपालिकाको एउटा सपना थियो– नमुना काम गर्ने । अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल परियोजनाको सहकार्यमा नगरपालिका त्यही सपना पूरा गर्ने बाटामा छ ।फोहोर व्यवस्थापनको पक्षमा नीलकण्ठ नगरपालिकाको यो अनुभवबाट फोहर व्यवस्थापनको चुनौती झेलिरहेका पालिकाहरूले पनि सिकाइका रुपमा ग्रहण गर्न सक्ने श्रेष्ठ बताउँछन्।