धादिङमा बजार अनुगमन कार्यलाई तिव्रता
धादिङमा बजार अनुगमन कार्यलाई तिव्रता
भिषण श्रेष्ठ,धादिङ
चाडपर्वको बेलामा उपभोक्तासँग बढी मूल्य लिने, गुणस्तरहीन वस्तु, म्याद नाघेका सामान, लेबल नभएका सामान विक्री गर्नेलगायतका कार्य बढी हुने भएकाले अनुगमनलाई तिव्र पारिएको छ ।
अनुगमनका क्रममा समितिले बुधबार पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका ३ मा सञ्चालित पिस हेभन रेष्टुरेन्ट एण्ड गेष्ट हाउस एण्ड रिसोर्टलाई २० हजार जरिवाना तिराएको छ ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वमा गएको अनुगमन समितिले उक्त रिसोर्टलाई जरिवाना तिराएको हो । कारबाहीमा परेको रिसोर्टले सरसफाईमा ध्यान नदिएको, खानेकुरा छोपेर नराखेको, खानामा झिँगा भन्किएको भेटिएपछी उपभोक्ता संरक्षण ऐन २०७५ को उपदफा ३९ को १ को क अनुसार जरिवाना तिराइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो।
पुनः यस्तो भेटिएमा कानुन बमोजिम कारवाही हुने उहाँले बताउनुभयो ।
अनुगमनमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाही, उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख चुणामणी पुरी, पत्रकार महासंघका अध्यक्ष राजाराम शर्मा र उपभोक्ता मन्च नेपालका अध्यक्ष शिवराज सापकोटा सहभागी हुनुहुन्थ्यो ।
यस्तै सहायक प्रमुख जिल्ला अधिकारी एवम जिल्ला अनुगमन समितिका संयोजक युवराज अर्याल सहितको टोलिले आदमघाटमा सञ्चालित खाद्यान्न पसलहरुमा अनुगमन गरेको छ ।अनुगमनका क्रममा व्यवसायीहरुलाई सचेत गराइएको र कार्यविधि अनुसार बिक्री गर्न निर्देशन दिईएको बताउनुभयो ।
जिल्लाका विभिन्न स्थानमा अखाद्य वस्तुको बिक्री भएको; तोकिएको मूल्यभन्दा बढी रकम लिएको र सरसफाइमा ध्यान नदिएको भन्ने गुनासो आएपछि बजार अनुगमनलाई तीव्रता अर्यालले बताउनुभयो । चाडपर्वको बेलामा उपभोक्तासँग बढी मूल्य लिने, गुणस्तरहीन वस्तु, म्याद नाघेका सामान, लेबल नभएका सामान विक्री गर्नेलगायतका कार्य बढी हुने भएकाले अनुगमन तीव्र पारिएको उहाँको भनाई छ ।
चाडपर्वको मौका छोपेर विशेष त पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लामा सञ्चालित होटलहरूले खाना, खाजाको मूल्य बढी लिने गरेको यात्रुहरूले गुनासो गर्दै आइरहेका छन् ।