दशैं सुरु,आज घटस्थापना
दशैं सुरु,आज घटस्थापना
अस्मिता कडुवा,धादिङ
बडादसैँको पहिलो दिन आज घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
दुर्गादेवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजाआराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
गाईको गोबरले लिपपोत गरिएको पूजा कोठामा जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
यस वर्षको दशैंको टीका असोज २६ गते शनिबार परेको छ । ११ बजेर ३६ मिनेटको शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ ।