बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।
विसं १९७९ मा निर्माण भएको दरबारको जीर्णोद्वार गरेपछि चिटिक्क परेको छ । टेउवाको मूर्तिकला र गाईघाट झरनाबीचमा रहेको दरबार पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । दरबार परिसरमा तस्बीर खिच्ने, टिकटक बनाउने र मनोरञ्जन लिनेको भीड देखिन्छ ।
रुपन्देहीको देवदहबाट घुम्न आउनुभएका प्रेरणा शर्माले एक सय वर्ष पुरानो दरबार निकै आकर्षक रहेको बताए । सामाजिक सञ्जालमा दरबारको तस्बिर तथा भिडियो देखेको हुँदा बागलुङ कालिका दर्शन गर्न आएका बेला दरबारमा आएको शर्माले बताए । दरबार पुरानो होला, भत्किएको होला भन्ने लागेको थियो”, तर यहाँ आउँदा चिटिक्क परेको देखेँ, स्थानीयले संरक्षण गरेर राख्नुभएको रहेछ”, शर्माले भने, “यहाँको हावापानी पनि राम्रो, ठाउँ पनि सुन्दर लाग्यो, हामीहरु पारिवारिक घुमघाममा आएका थियौँ, दरबारमा आएपछि हजुरबुबा, हजुरआमा, बाबा, ममी सबै खुसी हुनुभयो ।
दरबार करिब पाँच रोपनी जग्गामा फैलिएको छ । विसं २०१७ सम्म दरबार अस्तित्वमा थियो । भरतबम मल्ल तत्कालीन राजा हुनुहुन्थ्यो । यहीँबाट गलकोटको राजकाज चल्थ्यो । त्यस बेलासम्म गलकोट राज्यको प्रशासनिक, न्यायिक र आर्थिक अधिकार दरबारमा केन्द्रित थियो । पहिलो जननिर्वाचित सरकारले राजा, रजौटा उन्मूलन गर्ने निर्णय गरेको थियो । त्यसका लागि मन्त्रिपरिषद् प्रस्ताव लाने गलकोटे राजा भरतबम मल्ल थिए। उनी २०१५ को निर्वाचनमा भाग लिएर निर्वाचितसमेत भएका थिए।
दरबार मल्लकी नातिनी बुहारी सरोजा मल्लको नाममा छ । विसं २०३९ मा राजा भरतबमको निधनपछि दरबार संरक्षणको जिम्मा नाति माधव बममा आएको थियो । परिवारसहित दरबारमा बस्दै आएका मल्लको द्वन्द्वका समयमा मृत्यु भएको थियो । विसं २०५९ वैशाखमा भएको उक्त घटनासँगै मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौँ सरेको थियो । रासस