२१ देशका ३० भन्दा धेरै कलाकर्मी काठमाण्डौमा भेला हुने
२१ देशका ३० भन्दा धेरै कलाकर्मी काठमाण्डौमा भेला हुने
ग्लोमस क्याम्प’ अन्तर्राष्ट्रिय कार्यशालामा सहभागि २१ देशका ३० भन्दा धेरै विश्वविद्यालयका सङ्गीत, नृत्य, नाट्यकर्मी र कलाकार काठमाण्डौमा भेला हुने भएका छन् ।
भोलिदेखि १० दिनसम्म कार्यशाला चल्ने आयोजक संस्था नेपाल सङ्गीत विद्यालय ट्रस्टका प्राचार्य शिशिर उप्रेतीले जानकारी दिनुभयो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले कार्यशालाको उद्घाटन गर्ने तयारी छ । कार्यशालामा सहभागिले प्रशिक्षणमा भाग लिने र कलाको प्रदर्शन गर्नेछन् । कार्यशालाको उद्देश्य सृजनशील बुद्धिमत्ता, सङ्गीत र सांस्कृतिक सम्पदा र विश्वभर सृजनशीलताको आदान प्रदान गर्नु रहेको प्राचार्य उप्रेतीले बताउनुभयो ।
सन् २००७ मा स्थापना भएको ग्लोमसले पहिलो क्याम्प मोजाम्बिकमा गरेको थियो । त्यसपछि घाना, तान्जानिया, मलेसिया, ब्राजिल र डेनमार्कमा हुँदै यो कार्यक्रम नेपालमा हुन लागेको हो । ग्लोमसले विद्यार्थी तथा प्राध्यापकलाई अवसर मात्र हैन, सिर्जनशिल नागरिकताको वहस र अवसर पनि प्रदान गर्दछ,’ आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्व भरका कलाकर्मी समान हुन र उनीहरू विश्व सिर्जनशिल नागरिकताका हकदार हुन भनेर वकालत गर्छ ।