आज रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै
आज रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै
०८१ कात्तिक ४,आइतबार,
सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालतमा पेस गरिने भएको छ ।
जिल्ला अदालत कास्कीले पक्राउका अनुमति दिएलगत्तै उनलाई शुक्रबार पार्टीको मुख्यालयबाटै पक्राउ गरेको थियो । रविकै आग्रह अनुसार उनलाई सडकमार्ग हुँदै शनिबार बिहान पोखरा ल्याइपुर्याइएको थियो ।
सूर्यदर्शन सहकारीको बचत हिनामिनामा शुक्रबार अदालतले पूर्वगृहमन्त्री लामिछानेसहित १४ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । कास्कीका जिल्ला न्यायाधीश कृष्णजंग शाहले पक्राउ अनुमति दिएपछि कास्की प्रहरीले लामिछानेलाई पक्राउ गरी उपस्थित गराइदिन सीआईबी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, अपराध अनुसन्धान शाखा काठमाडौंलाई पत्र पठाएको थियो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको मुख्य आरोप लामिछानेमाथि छ । रवि लामिछानेको नामै किटान गरेर सहकारी पीडितले २०८० माघ २२ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा पूरक जाहेरी दिएका थिए ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै कास्की प्रशासनले आजका लागि सुरक्षा व्यवस्थालाई थप मजबुत बनाएको छ ।
रवि पक्राउ परेसँगै रास्वपा उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डीपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, सहमहामन्त्री रमेश प्रसाईंलगायतका थुप्रै नेता पोखरामा छन् ।