Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारसमाचारसाहित्य / संस्कृति

आज हरिबोधिनी एकादशी : तुलसी र दामोदरको विवाह गरी मनाइँदै

आज हरिबोधिनी एकादशी : तुलसी र दामोदरको विवाह गरी मनाइँदै

०८१,कात्तिक २७,मंगलबार,

आज हरिबोधिनी एकादशी प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा ‘गोविन्द उठ्नुस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ’ भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेन्द्रीय एवं मन गरी ११ वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ ।

हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

कार्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भए अनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।

आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button