भदौ १० गते भोटेकोशीसहित त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले सडक तथा पुलमा क्षति पुर्याएपछि धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्न चारवटा वैकल्पिक सडकलाई अस्थायी यातायात रुट कायम गरिए पनि हाल तीमध्ये कुनै पनि सडक सहज रूपमा सञ्चालन गर्न सकिने अवस्थामा नरहेको पाइएको छ ।

मुख्य सडक र पुलको सञ्जाल ध्वस्त भएपछि वैकल्पिक मार्गबाट साना तथा अत्यावश्यक सवारी साधन सञ्चालनको प्रयास मात्र पर्याप्त नहुने देखिएको छ । नदीमा नयाँ पक्की पुल वा बेलिब्रिज निर्माण नभएसम्म धादिङका त्रिशूली नदी उत्तरतर्फ रहेका आठ स्थानीय तहका नागरिकको जनजीवन पूर्णरूपमा सहज बनाउन कठिन हुने स्थानीयको भनाइ छ । मुख्य यातायात सञ्जाल अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु, खाद्यान्न, इन्धन र औषधिको आपूर्तिमा समेत समस्या देखिन थालेको छ । सडकको दयनीय अवस्था, हिलो र खाल्डाखुल्डीका कारण वैकल्पिक मार्गमा सवारीसाधन सहज रूपमा सञ्चालन हुन नसक्दा स्थानीय उत्पादन बजारसम्म पुर्याउनसमेत किसानलाई समस्या भएको छ । विशेषगरी तरकारी र दूध बजारसम्म पुर्याउन नसक्दा किसानले आर्थिक क्षति व्यहोर्नुपरेको छ ।

प्रमुख जिल्ला अधिकारी एवं यातायात व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी पाण्डेय (गौतम)को अध्यक्षतामा बसेको बैठकले बाढीका कारण अवरुद्ध मुख्य सडकको विकल्पका रूपमा चारवटा मार्गलाई अस्थायी रुट कायम गरेको थियो। तर सडकमा हिलो, कच्ची तथा बिग्रिएको भाग र आवश्यक पूर्वाधारको अभावका कारण बस, ट्रक तथा अन्य ठूला सवारीसाधन सञ्चालन गर्न कठिनाइ भइरहेको छ । समितिले धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे–कोशीखोला–फोर्सेटार–कल्लेरीटार, धादिङबेँशी–भुलभुले–पात्ले–फ्याक्से–स्यालडाँडा–डाँडागाउँ–कोशीखोला–फोर्सेटार, परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मासटार तथा धादिङबेँशी–टारीबेँशी–सल्यानटार–आरुघाट हुँदै गोरखा, आँबुखैरेनी, चितवन र पोखरातर्फ जाने मार्गलाई वैकल्पिक रुटका रूपमा अघि सारेको थियो ।

यीमध्ये करिब ३६ किलोमिटर लामो धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे–कोशीखोला–फोर्सेटार–कल्लेरीटार सडक केही भाग पक्की, केही स्तरोन्नतिको क्रममा र केही भाग तत्काल सुधार गर्नुपर्ने अवस्थामा छ। कोशीखोलामा बेलिब्रिज राख्नुपर्ने आवश्यकता समेत औंल्याइएको छ । यसैगरी धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने पिपलटार–मासटार सडकमा हिलोका कारण फोर ह्वीलबाहेकका सवारीसाधन सञ्चालनमा समस्या देखिएको छ । बुधबार बिहान धादिङबेँसीबाट काठमाडौं जाँदै गरेको बस नेपालटार नजिकै हिलोमा फसेपछि वैकल्पिक सडकको वास्तविक अवस्था थप स्पष्ट भएको हो ।

बस व्यवसायी तथा धादिङ मण्डली यातायात प्रालिका फिल्ड इन्चार्ज सिताराम भट्टले वैकल्पिक मार्गलाई कागजमा मात्रै सीमित नराखी बस तथा ट्रकसमेत सहज रूपमा सञ्चालन हुन सक्ने गरी तत्काल सडक सुधार र हिलो व्यवस्थापन गर्नुपर्ने बताएका छन् । बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेँसीबाट पृथ्वी राजमार्गतर्फ जाने मुख्य सडक सम्पर्क विच्छेद भएको छ । त्यसपछि वैकल्पिक मार्गबाट यातायात सञ्चालन गर्ने प्रयास भए पनि सडकको वर्तमान अवस्थाका कारण यात्रु तथा सवारी व्यवसायी दुवैले सास्ती खेप्नुपरेको बस व्यवसायी तथा धादिङ मण्डली यातायात प्रालिका फिल्ड इन्चार्ज भट्टले ओखर न्यूजलाई जनकारी दिनुभयो ।

समितिले वैकल्पिक सडक तत्काल सञ्चालनयोग्य बनाउन सम्बन्धित सरकारी कार्यालयलाई जिम्मेवारी तोकेको थियो । तर हाल कुनै पनि वैकल्पिक सडक नियमित बस तथा ठूला सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्थामा नरहेकाले सडक मर्मत, हिलो व्यवस्थापन र आवश्यक ठाउँमा पुल निर्माणलाई तत्काल प्राथमिकता दिनुपर्ने देखिएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल