भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा देशका विभिन्न जिल्लामा गएको बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय धादिङ समाज तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्हरूले हालसम्म रु. ५७ लाख ९८ हजार सहयोग संकलन तथा प्रतिबद्धता गरेका छन् ।

यही अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय धादिङ समाजले विदेशमा रहेका धादिङवासी तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्लाई एकीकृत गर्दै सहयोग अभियानलाई अघि बढाएको हो । रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने तथा दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय धादिङ समाजले विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद् तथा सहयोगी दाताहरूसँग समन्वय गरी सहयोग संकलन तथा प्रतिबद्धता गरेको हो ।समाजका अनुसार हालसम्म धादिङ समाज अमेरिकाबाट करिब रु. ३३ लाख सहयोग संकलन तथा प्रतिबद्धता भएको छ। त्यस्तै धादिङ समाज जापानबाट करिब रु. १० लाख, धादिङ समाज बेल्जियमबाट करिब रु. ४ लाख ५० हजार, धादिङ समाज अस्ट्रेलियाबाट करिब रु. ४ लाख सहयोग जुटेको छ ।

यसैगरी धादिङ समाज दक्षिण कोरियाबाट करिब रु. २ लाख ४० हजार, धादिङ समाज युकेबाट करिब रु. २ लाख ४० हजार, धादिङ समाज कतारबाट रु. ८५ हजार, धादिङ समाज बहराइनबाट रु. ५३ हजार, धादिङ समाज साउदी अरबबाट रु. २५ हजार तथा धादिङ समाज चेक रिपब्लिकबाट रु. ५ हजार सहयोग प्राप्त तथा प्रतिबद्धता भएको समाजले जनाएको छ । विदेशमा रहेका धादिङवासी तथा सहयोगीहरूले विपद्को समयमा आफ्नो जन्मभूमि र प्रभावित नागरिकप्रति देखाएको सहयोगी भावना तथा ऐक्यबद्धताले राहत तथा पुनर्स्थापनाको अभियानमा महत्वपूर्ण योगदान पुगेको समाजले जनाएको छ । संकलित तथा प्रतिबद्ध रकमलाई बाढीपहिरोबाट बढी प्रभावित क्षेत्रका नागरिकको आवश्यकता पहिचान गरी राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा परिचालन गर्ने उद्देश्य राखिएको छ ।

अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले बाढीपहिरो प्रभावित नागरिकहरूको पीडामा मलम लगाउने उद्देश्यले सहयोगका लागि हातेमालो गर्ने सबैप्रति आभार व्यक्त गर्दै सहयोगीहरूको उदारता र भावनात्मक एकजुटताले विपद्बाट प्रभावित परिवारलाई राहत तथा पुनर्स्थापनाको बाटोमा अघि बढ्न सानो भए पनि महत्वपूर्ण हौसला र बल पुगेको बताउनुभएको छ । "उहाँले विपद्को घडीमा देश तथा विदेशमा रहेका नेपालीबीच देखिएको सहयोग, सद्भाव र आगामी दिनमा पनि आवश्यकताअनुसार राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग र समन्वयलाई निरन्तरता दिने अन्तर्राष्ट्रिय" धादिङ समाजका अध्यक्ष खकुरालले बताए ।

बाढीपहिरोबाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न राहतसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, विस्थापित परिवारको पुनर्स्थापना तथा जीविकोपार्जनका कार्यक्रम आवश्यक रहेकाले संकलित सहयोगलाई प्रभावकारी र पारदर्शी रूपमा परिचालन गर्नुपर्नेमा समेत जोड दिइएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल