भदौ १० गते आएको विनाशकारी बाढीबाट धादिङमा ठूलो जनधनको क्षति भएपछि धादिङ उद्योग वाणिज्य संघले प्रभावित उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई तत्काल राहत र सहजीकरण गर्न सरकारसँग माग गरेको छ ।

संघले बाढीका कारण धेरै नागरिक बेपत्ता भएकोप्रति दुःख व्यक्त गर्दै बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि संवेदनशील भएर काम गर्न सरकारसँग आग्रह गरेको छ । साथै विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । बाढी तथा पहिरोबाट प्रभावित उद्योगी, व्यवसायी र सर्वसाधारणले भोग्नुपरेको क्षतिलाई मध्यनजर गर्दै संघले तत्काल आवश्यक पहल तथा सहजीकरणका लागि पाँचबुँदे माग अघि सारेको हो ।

संघका प्रमुख मागहरूमा बैंक कर्जा तथा ब्याजमा सहुलियत र पुनर्संरचना गर्ने, बाढीबाट क्षति व्यहोरेका तथा बैंक कर्जा लिएर व्यवसाय सञ्चालन गरिरहेका उद्योगी–व्यवसायीलाई विशेष सहुलियत दिनुका साथै कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गरी व्यवसायीलाई भुक्तानीमा सहजता प्रदान गर्न आग्रह गरेको छ । त्यस्तै, बाढीका कारण उद्योग, व्यवसाय तथा घरधुरीमा विद्युत् सेवा नियमित रूपमा प्रयोग गर्न नसकिएको अवस्थालाई ध्यानमा राख्दै प्रभावित अवधिको न्यूनतम विद्युत् महसुलमा मिनाहा वा छुट दिन संघले माग गरेको छ ।

संघले वैकल्पिक सडकको तत्काल स्तरोन्नति तथा पुनर्निर्माण गरी आवागमन सहज बनाउनुपर्ने, धादिङको मुख्य तथा उत्तरी भाग जोड्ने सडकहरूको तत्काल मर्मत, पुनर्निर्माण तथा आवश्यक स्तरोन्नति गर्नुपर्ने माग पनि अघि सारेको छ । यसैगरी, बाढीका कारण क्षतिग्रस्त धादिङको मुख्य तथा उत्तरी क्षेत्रलाई पृथ्वी राजमार्गसँग जोड्ने तत्काल अस्थायी वैकल्पिक मार्ग निर्माण गर्न संघले सरकारको ध्यानाकर्षण गराएको छ । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रको पुनःस्थापना, पुनर्निर्माण तथा आर्थिक गतिविधि चलायमान बनाउन संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, सहकार्य र साझा कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा समेत संघले जोड दिएको छ ।

धादिङ उद्योग वाणिज्य संघले विपद्बाट प्रभावित उद्योगी तथा व्यवसायीको समस्या समाधान र पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल