धादिङ सदरमुकाम जोड्ने पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ फुर्केखोलाको पक्की पुल भोटेकोशी नदीमा आएको बाढीले बगाएको दुई हप्ता बितिसक्दा पनि वैकल्पिक सडकको अवस्था सुधार हुन सकेको छैन ।

भदौ १० गते आएको विनाशकारी बाढीले फुर्केखोला–परेवाटार पुल बगाएपछि परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको थियो । तर सडक मर्मत तथा सुधारको काम प्रभावकारी रूपमा अघि बढ्न नसक्दा अहिले पनि उक्त सडक हिलाम्मे र लेदोले भरिएको छ । सामान्य सवारीसाधन सञ्चालन गर्नसमेत कठिनाइ भइरहेको स्थानीय तथा यातायात व्यवसायीहरूको गुनासो छ । यसबीच जिल्ला प्रशासन कार्यालय धादिङले वैकल्पिक सडक मर्मत–सम्भारका लागि भन्दै सवारी आवागमन पूर्ण रूपमा बन्द रहने सूचना दुई पटक जारी गरिसकेको छ । सूचना आउने तर सडकको अवस्था भने उस्तै रहने गरेको भन्दै स्थानीयले सम्बन्धित निकायको कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।

जिल्ला प्रशासन कार्यालय धादिङले पछिल्लो सूचना अनुसार परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार वैकल्पिक सडकमा मर्मत–सम्भारका लागि भदौ २४ गते बुधबार बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने जनाइएको छ । यसअघि पनि सडक मर्मतका लागि निश्चित समय तोकेर सवारी आवागमन रोकिएको थियो ।

धादिङ उद्योग वाणिज्य संघका महासचिव तिलक सिंखडाले वैकल्पिक भनिएका सडकहरूबाट मालबाहक गाडी हरू संचालन हुन नसकेका कारण आपूर्ति प्रकृया प्रभावित भएको एवं गोरखा आरूघाट रुटबाट ढुवानी गर्नुपर्दा थप भार बढेको बताउनुभयो, वहाँले प्रचारमा आएजसरी सडकको अवस्था सुधार नभएकोले संबन्धित पक्षहरूलाई थप जिम्मेवार बन्न आग्रह पनि गर्नुभयो।

धादिङबेँसीका यातायात व्यवसायी तथा Dhading Mandali Yatayat Pvt. Ltd. का सञ्चालक नारायण दत्त कार्कीले सूचना जारी गरेर सवारी रोक्ने काम पटक–पटक भयो, तर सडक सुधारको काम कहिले हुन्छ ? वैकल्पिक मार्ग सञ्चालनमा आएको भन्दै प्रचार गरिए पनि व्यवहारमा सडकको अवस्था निकै कमजोर रहेको बताए । उनका अनुसार फोर ह्विलबाहेक अन्य सवारीसाधनलाई उक्त सडकमा सञ्चालन गर्न निकै कठिन भइरहेको छ । “वैकल्पिक मार्गमा यातायात सञ्चालनमा आयो भनेर प्रधानमन्त्री कार्यालयदेखि गाउँपालिकासम्मले जोडतोडका साथ प्रचार गरे । तर सडकको अवस्था यति कमजोर छ कि फोर ह्विल बाहेक अन्य सवारीसाधन गुड्नै सक्दैनन्,” कार्कीले भने ।

स्थानीयका अनुसार बाढीपछि दुई हप्ता बितिसक्दा पनि सडकको अवस्था सुधार नहुनुका कारण उत्तरी धादिङका नागरिकले आवतजावतमा ठूलो समस्या झेलिरहेका छन् । सडक हिलाम्मे र लेदोले भरिँदा बिरामी, विद्यार्थी, दैनिक उपभोग्य सामग्री ओसारपसार गर्ने नागरिक तथा यातायात व्यवसायी सबै प्रभावित भएका छन् । स्थानीयले सूचना जारी गरेर मात्र समस्या समाधान नहुने भन्दै वैकल्पिक सडकलाई तत्काल सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्थामा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन् । सडक मर्मतसँगै फुर्केखोलामा नयाँ पक्की पुल वा बेलिब्रिज निर्माणको काम पनि तत्काल अघि बढाउनुपर्ने उनीहरूको माग छ ।

फुर्केखोलामा स्थायी पुल वा बेलिब्रिज निर्माण नभएसम्म त्रिशूली नदीको उत्तरतर्फ रहेका धादिङका आठ स्थानीय तहका नागरिकको जनजीवन पूर्ण रूपमा सहज बनाउन कठिन हुने स्थानीयको भनाइ छ । उनीहरूका अनुसार भाषण र सूचनाभन्दा पनि अब सडकमा देखिने गरी काम आवश्यक छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल