धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ र २ स्थित सल्यानटारका बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले निर्माण भइरहेको सल्यानटार खानेपानी सहलगानी आयोजना अन्तिम चरणमा पुगेको छ। मनपाङ खोलाको मुहानबाट करिब १३ किलोमिटर दूरी पार गरी पानी ल्याएर वितरण गर्ने गरी निर्माण भइरहेको आयोजनाअन्तर्गत हालसम्म १ हजार ७ सय घरधुरीमा धारा जडान गरिएको छ ।

मनपाङ खोला सल्यानटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पाँचौँ साधारणसभा तथा अधिवेशनमा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै समितिका अध्यक्ष कृष्णकुमारी श्रेष्ठले आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका सल्यानटारवासीलाई घरघरमै स्वच्छ खानेपानी पुर्याउने लक्ष्यसहित आयोजना सञ्चालन गरिएको हो। प्रारम्भिक सर्वेक्षणमा २ हजार ७ सय घरधुरीलाई समेट्ने लक्ष्य राखिएको भए पनि हाल आरुघाट विशालनगर क्षेत्रबाहेक करिब २ हजार २ सय ५० घरधुरीले खानेपानी उपभोग गर्न सक्ने अवस्था रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार हालसम्म १ हजार ७ सय घरमा धारा जडान भइसकेको छ। बाँकी घरधुरीमा धारा जडान तथा निर्माणका अन्य काम अघि बढिरहेका छन्। आर्थिक अभावका कारण धारा जडान गर्न नसक्ने विपन्न परिवारलाई निःशुल्क धारा उपलब्ध गराउने व्यवस्था मिलाइने उहाँले जानकारी दिनुभयो ।

सल्यानटार क्षेत्रमा खानेपानीको दीर्घकालीन समस्या समाधान गर्ने उद्देश्यले २०७५ सालमा मनपाङ खोलाको मुहान दर्ता गरी आयोजना निर्माण प्रक्रिया अघि बढाइएको थियो। नेपाल सरकार र स्थानीय उपभोक्ताको संयुक्त लगानीमा सञ्चालन भइरहेको आयोजनामा सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागत सहभागिता रहेको छ । आयोजना निर्माणका लागि २३ करोड ८५ लाख ४९ हजार ३ सय ८७ रुपैयाँको ठेक्का सम्झौता गरिएको छ। २०७८ माघ २६ गते ठेक्का प्रक्रिया अघि बढाइएको आयोजनाको निर्माण जिम्मेवारी बुटवलस्थित सगुन कन्स्ट्रक्सनले पाएको हो । केही घरधुरीमा धारा जडान गर्नुपर्ने तथा बाँकी प्राविधिक काम सम्पन्न भएपछि आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । आयोजना हस्तान्तरणपछि नियमित पानी वितरण, मर्मतसम्भार, व्यवस्थापन तथा खानेपानीको गुणस्तर कायम राख्ने जिम्मेवारी उपभोक्ता समितिमा आउनेछ ।

कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल, वडा अध्यक्ष कृष्ण खत्री, गाउँपालिकाका पूर्वअध्यक्ष शम्भु थापा र पूर्वउपाध्यक्ष देवीकुमारी बुर्लाकोटीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले खानेपानी नागरिकको आधारभूत आवश्यकता भएकाले सबै घरधुरीमा स्वच्छ र सुरक्षित पानीको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए । साथै, विपन्न तथा पछाडि परेका परिवारलाई खानेपानीको पहुँचमा समेट्ने, उपभोक्ताको अधिकार संरक्षण गर्ने र सरसफाइसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । करोडौँ रुपैयाँको लगानीमा निर्माण भइरहेको आयोजनालाई दीर्घकालसम्म प्रभावकारी रूपमा सञ्चालन गर्न उपभोक्ता समितिको संस्थागत क्षमता विकास, नियमित मर्मतसम्भार र पारदर्शी व्यवस्थापन आवश्यक रहेको जोड दिनुभयो ।

सल्यानटारका बासिन्दाका लागि महत्वपूर्ण मानिएको आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि घरघरमा खानेपानीको पहुँच विस्तार हुने र लामो समयदेखिको खानेपानी समस्या कम हुने अपेक्षा गरिएको छ । समितिका अध्यक्ष कृष्णकुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न पाँचौँ साधारणसभा तथा अधिवेशनमा आयोजनाको प्रगति, आगामी योजना र उपभोक्ताका सरोकारका विषयमा छलफल गरिएको थियो । सभामा नयाँ कार्यसमिति निर्वाचित गर्ने कार्यक्रमसमेत रहेको थियो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल