नेपाल आयल निगमको आर्थिक वर्ष २०८२/८३ को कारोबार विवरणअनुसार भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष देशकै सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प बनेको छ ।

निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगञ्जका अनुसार भैरवी इन्टरप्राइजेजले गत आर्थिक वर्षमा १ अर्ब ९९ करोड ११ लाख ६० हजार २ सय ६५ रुपैयाँ बराबरको पेट्रोल र डिजेल खरिद गरेको छ। निगमबाट खरिद गरिएको इन्धनमा ढुवानी खर्च तथा नाफा जोडेर बिक्री गरिने भएकाले उक्त पम्पको कुल वार्षिक कारोबार २ अर्ब रुपैयाँभन्दा बढी पुगेको अनुमान गरिएको छ । सूचीको दोस्रो स्थानमा काठमाडौंको सामाखुसीस्थित प्रहरी कल्याण कोष पेट्रोलपम्प रहेको छ। निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटका अनुसार उक्त पम्पले १ अर्ब ८५ करोड ५३ लाख १ हजार १ सय ४७ रुपैयाँ बराबरको इन्धन खरिद गरेको छ । त्यसैगरी, तेस्रो स्थानमा चितवनको नारायणगढस्थित कैलाश आयल डिस्ट्रिब्यूटर्स (१ अर्ब ६७ करोड ९१ लाख रुपैयाँ), चौथो स्थानमा काठमाडौंको भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोल स्टेशन (१ अर्ब ६७ करोड ३६ लाख रुपैयाँ) तथा पाँचौँ स्थानमा ललितपुरको पुल्चोकस्थित साझा सेवा सहकारी (१ अर्ब ४१ करोड ५० लाख रुपैयाँ) रहेका छन् ।
बुटवलको मिलन ब्रदर्स सप्लायर्स १ अर्ब ३४ करोड ९३ लाख रुपैयाँको कारोबारसहित छैटौँ स्थानमा रहेको छ। सातौँदेखि दशौँ स्थानसम्म क्रमशः प्रहरी कल्याण कोष नक्साल, भक्तपुर फ्युल सेन्टर, सत्यनारायण प्रालि (बालाजु) र बागमती आयल सप्लायर्स परेका छन् । पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अनुसार हाल देशभर सञ्चालनमा रहेका पेट्रोलपम्पमध्ये वार्षिक १ अर्ब रुपैयाँभन्दा बढीको इन्धन कारोबार गर्ने पम्पको संख्या १६ पुगेको छ ।

शीर्ष १० बाहेक चितवनको साझा, नुवाकोटको भैरवी आयल, बाराको पथलैयास्थित प्रहरी कल्याण केन्द्र, अमलेखगञ्जको आकाश पेट्रोलियम, सशस्त्र प्रहरीको शक्तिदेवी लगनखेल तथा काठमाडौंको हिमाल इन्टरप्राइजेज ले पनि वार्षिक १ अर्ब रुपैयाँभन्दा बढीको इन्धन बिक्री गरेका छन् । यो तथ्याङ्कले देशमा सीमित संख्याका ठूला पेट्रोलपम्पहरूले इन्धन बजारको ठूलो हिस्सा ओगटिरहेको देखाएको छ ।

गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल