बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय र जनस्वास्थ्य कार्यालय धादिङले आर्थिक वर्ष २०८३/८४ को असोज २८ गतेसम्म तयार पारेको साप्ताहिक तथ्याङ्क अनुसार जिल्लामा हालसम्म स्क्रब टाइफसका १९७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १३२ जना महिला र ६५ जना पुरुष रहेका छन् ।

विवरणअनुसार जिल्लामा स्क्रब टाइफस संक्रमणबाट हालसम्म कसैको पनि मृत्यु भएको छैन । विवरणमा जिल्लाका स्थानीय तहहरूमा संक्रमणको अवस्था फरक–फरक रहेको देखिन्छ । जिल्लाका १३ वटा स्थानीय तहहरूमध्ये नीलकण्ठ नगरपालिकामा सबैभन्दा बढी ९९ जनामा सङ्क्रमण पुष्टि भएको छ । नीलकण्ठमा ३२ पुरुष र ६७ महिला सङ्क्रमित भएका हुन् । यस्तै ज्वालामुखी गाउँपालिकामा ४१ जना (१४ पुरुष, २७ महिला), सिद्धलेक गाउँपालिकामा २६ जना (८ पुरुष, १८ महिला), त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जना (२ पुरुष, ५ महिला), रुवीभ्याली गाउँपालिकामा ४ जना (१ पुरुष, ३ महिला), बेनिघाट रोराङ गाउँपालिकामा ४ जना (सबै महिला), गजुरी गाउँपालिकामा ४ जना (२ पुरुष, २ महिला), नेत्रावती डबजोङ गाउँपालिकामा ३ जना (२ पुरुष, १ महिला), गङ्गाजमुना गाउँपालिकामा ३ जना (१ पुरुष, २ महिला) र खनियाबास गाउँपालिकामा २ जना (दुवै पुरुष) सङ्क्रमित फेला परेका छन्। धादिङ आएर परीक्षण गराएका बाहिरी जिल्लाका ४ जना (१ पुरुष, ३ महिला) मा पनि सङ्क्रमण पुष्टि भएको छ ।

कार्यालयको पछिल्लो साप्ताहिक विवरणअनुसार एक सातामा मात्रै २५ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमितमध्ये ७ जना पुरुष र १८ जना महिला रहेका छन् । स्क्रब टाइफस एक प्रकारको संक्रमित माइटको लार्भाको टोकाइबाट सर्ने रोग हो ।

ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने तथा टोकेको ठाउँमा कालो दाग देखिनु यसका सम्भावित लक्षण हुन् । यस्ता लक्षण देखिएमा समयमै नजिकैको स्वास्थ्य संस्थामा गएर जाँच गराउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल