ads

बाढी प्रभावित सडक–पुल पुनर्निर्माणदेखि चाडपर्वमा बजार अनुगमनसम्म, धादिङ जिल्ला विपद् व्यवस्थापन समितिका ८ निर्णय

सोमबार, आश्विन २६, २०८३

theme

धादिङमा बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रको राहत तथा उद्धार व्यवस्थापन, क्षतिग्रस्त सडक र पुलको पुनर्निर्माण, खाद्यान्न आपूर्ति तथा चाडपर्व लक्षित बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ ।

 

 

बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीको प्रभाव तथा तत्काल राहत व्यवस्थापनका सम्बन्धमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेको थियो ।  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे (गौतम) को अध्यक्षतामा बसेको बैठकले विभिन्न आठवटा निर्णय गरेको हो ।

 

 

बैठकले विपद्को समयमा तत्काल खोज तथा उद्धारका लागि जिल्लास्थित सबै सुरक्षा निकायको अधिकतम जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । साथै, विपद् व्यवस्थापनका लागि आवश्यक राहत सामग्री जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित निकायमा माग गर्ने निर्णय गरिएको छ । बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण त्रिपुरासुन्दरी गाउँपालिका–२ र गोरखा जोड्ने मोटरेबल पुल बगाएको घटनालाई ध्यानमा राख्दै उक्त स्थानमा बेलिब्रिज निर्माणका लागि गृह मन्त्रालयमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

 

 

त्यसैगरी, धादिङबेँसी–ज्वालामुखी–बुढीगण्डकी आसपासको वैकल्पिक सडक तथा धादिङबेँसी–आरुघाट सडक खण्डमा रहेका क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्था गर्न सम्बन्धित निकाय तथा नेपाल सरकारसँग माग गर्ने निर्णय गरिएको छ। धादिङबेँसी–सुनीलबजार–गल्छी सडक खण्डको स्तरोन्नतिका लागि पनि बजेट व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध गरिने भएको छ ।

 

 

चीनको तिब्बत क्षेत्रमा आएको आकस्मिक बाढीका कारण पृथ्वी राजमार्ग हुँदै काठमाडौं जाने सडकखण्ड प्रभावित भएको सन्दर्भमा धादिङबेँसी जोड्ने फुर्केखोला आसपासको मोटरेबल पुल बगाएको र वैकल्पिक सडक प्रयोग गर्नुपरेको अवस्थालाई बैठकले गम्भीर रूपमा लिएको छ। फुर्केखोलामा तत्काल बेलिब्रिज निर्माणका लागि गृह मन्त्रालयमार्फत नेपाल सरकारलाई पुनः अनुरोध गर्ने निर्णय गरिएको छ। यसअघि २०८३/०४/१० गतेको निर्णयअनुसार माग गरिए पनि हालसम्म बजेट व्यवस्था भएको जानकारी नआएकाले पुनः अनुरोध गर्ने निर्णय गरिएको हो ।

 

 

चाडपर्वलाई लक्षित गर्दै बैठकले पृथ्वी राजमार्गको पेरवाटार–मास्टार सडक खण्डमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडी मात्र सञ्चालन हुने व्यवस्था मिलाउने निर्णय गरेको छ। मुख्य चाडपर्व दसैँलगायत चाडबाडका समयमा खाद्यान्न तथा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि उद्योग वाणिज्य संघ र धादिङ उद्योग वाणिज्य संघले आवश्यक व्यवस्थापन गर्ने निर्णय पनि गरिएको छ । यसैगरी, हाल चाडपर्व र विपद्को समय भएकाले जिल्लामा खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको कृत्रिम अभाव र कालोबजारी हुन नदिन सम्बन्धित निकायले बजार अनुगमनलाई तीव्र बनाउने निर्णय बैठकले गरेको छ ।

 

 

बैठकले विपद् प्रभावित नागरिकलाई तत्काल राहत तथा उद्धार उपलब्ध गराउने, सडक सम्पर्क सहज बनाउन क्षतिग्रस्त पुलको पुनर्निर्माणका लागि पहल गर्ने र चाडपर्वका समयमा अत्यावश्यक सामग्रीको आपूर्ति तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा जोड दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल