विपद्का घटनामा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ५० करोड १ लाख रुपैयाँ निकासा गरेको छ ।

प्राधिकरणले केन्द्रीय विपद् व्यवस्थापन कोषबाट उक्त रकम जिल्ला विपद् व्यवस्थापन कोषमा पठाएको छ । रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, डडेल्धुरा, जुम्ला, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र कञ्चनपुर जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको मागअनुसार रकम निकासा गरिएको हो । विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउन सम्बन्धित जिल्लाबाट माग भई आएपछि आवश्यक प्रक्रिया पूरा गरी रकम निकासा गरिएको प्राधिकरणले जनाएको छ । अन्य जिल्ला विपद् व्यवस्थापन कोषमा समेत सम्बन्धित जिल्लाको मागअनुसार रकम पठाउने तयारी भइरहेको छ । यसअघि रसुवा–भोटेकोशी बाढी, गोरखा–बुढीगण्डकी बाढी र कालीगण्डकी बाढीबाट प्रभावित भई विपद् संकटग्रस्त क्षेत्र घोषित ४१ स्थानीय तहका लागि २४ करोड ५० लाख रुपैयाँ निकासा भइसकेको छ । उक्त रकम विपद्बाट प्रभावित स्थानीय तहका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने प्रयोजनका लागि पठाइएको हो ।

यसैगरी, रसुवा, नुवाकोट र धादिङका १२ स्थानीय तहका विपद् प्रभावित घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटीसहित विभिन्न १० विकास साझेदार संघसंस्थाले बहुउद्देश्यीय नगद सहायता उपलब्ध गराइसकेका छन् । ती संघसंस्थाले प्रभावित घरपरिवारलाई कुल २९ करोड ६१ लाख ७५ हजार रुपैयाँ नगद सहायता वितरण गरिसकेको प्राधिकरणले जनाएको छ । बिशेषगरी भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवारले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको थियो। बाढीका कारण कतिपय परिवारका सदस्य बेपत्ता भएका छन् भने धेरै परिवार घरबारविहीन तथा जीविकोपार्जनको समस्यामा परेका छन् ।

बेपत्ता व्यक्तिका परिवारलाई मृतकसरह राहतका लागि निकासा ५० करोड १ लाख,४१ स्थानीय तहका लागि यसअघि निकासा २४ करोड ५० लाख,रसुवा, नुवाकोट र धादिङका १२ स्थानीय तहमा नगद सहायता २९ करोड ६१ लाख ७५ हजार बेपत्ता व्यक्तिका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउने व्यवस्था कार्यान्वयनका लागि रकम निकासा हुनुले विपद्बाट आफन्त गुमाएका परिवारलाई आर्थिक सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्राधिकरणले सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिको मागका आधारमा अन्य जिल्लामा समेत आवश्यक रकम निकासा गर्ने तयारी गरेको छ । बेपत्ता व्यक्तिका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउने व्यवस्था कार्यान्वयनका लागि रकम निकासा हुनुले विपद्बाट आफन्त गुमाएका परिवारलाई आर्थिक सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल