नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथाम तथा सडक सुधारको काम अघि बढाइने भएपछि उक्त सडकखण्डमा दैनिक ५ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै २०८३ मंसिर १३ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि दैनिक बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले बताए ।
शर्माले भने, सडकको अवस्था हेर्दा कम्तीमा १५ दिन बाटो बन्द गरेर काम गर्नुपर्ने देखिन्छ । प्राविधिक मूल्याङ्कनपछि कति समय बन्द गरेर काम गर्ने भन्ने निर्णय हुनेछ । अहिले अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको हो ।
विगतमा केही समय काम सुचारु भएर पुनः स्थगित भएको नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो रोकथामको काम अघि बढाउने क्रममा सम्भावित जोखिमलाई मध्यनजर गर्दै र सडकमा पहिरो रोकथामको काम गर्दा हुन सक्ने जोखिमलाई ध्यानमा राखी यात्रु तथा सवारीसाधनको सुरक्षाका लागि आवागमन बन्द गर्न लागिएको सूचनामा उल्लेख छ ।

तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले काम अघि बढाएको छ । गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि पहिरो रोकथामका लागि विभिन्न प्रविधि अपनाउन लागिएको हो ।

काठमाडौंबाट पोखरा जाने सवारीसाधनलाई भने अवरोध नहुने
प्रशासनका अनुसार यस निर्णयअन्तर्गत काठमाडौंबाट मुग्लिन–आँबुखैरेनी हुँदै पोखरा खण्डमा चल्ने सवारीसाधनको आवागमन भने सुचारु नै रहने व्यवस्था गरिएको छ । त्यसैले उक्त मार्ग प्रयोग गर्ने सवारीसाधनले नियमित रूपमा यात्रा गर्न सक्नेछन् । प्रशासनले यात्रु तथा चालकलाई सडक बन्द हुने समयलाई ध्यानमा राखेर यात्रा योजना बनाउन र सोहीअनुसार आवागमन गर्न अनुरोध गरेको छ ।
आवश्यक जानकारी तथा समन्वयका लागि सम्पर्क नम्बरहरू जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र हटलाइन : १२३४,नेपाल प्रहरी हटलाइन : १०० / १०३,९८५५०१३९९९,सशस्त्र प्रहरी बल, नेपाल हटलाइन : ११४४,जिल्ला प्रशासन कार्यालय, चितवन (सूचना अधिकारी) ९८५५०९२२००,सडक डिभिजन भरतपुर, चितवन (सूचना अधिकारी) ९८५५०९२२१८

सडक बन्दका कारण पर्न सक्ने असुविधाप्रति जिल्ला प्रशासन कार्यालय चितवनले क्षमायाचना गर्दै सम्बन्धित सबैलाई सूचनाको पालना गर्न अनुरोध गरेको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल