धादिङमा नियम विपरीत भाडामा यात्रु ओसार्ने निजी सवारी साधनलाई कारवाही गर्न नेपाल यातायात व्यवसायी संघ राष्ट्रिय महासंघ जिल्ला समिति धादिङले माग गरेका छन् । बस ब्यबसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी संघ राष्ट्रिय महासंघ जिल्ला समिति धादिङले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउदै अनाधिकृत रुपमा संचालित निजी सवारी साधनलाई कारबाहीको माग गरेका हुन् ।

निजी प्रयोजनका चार पाङग्रे सवारी दर्ता भएका जिप, बोलेरो लगायतका सवारीसाधनले प्रचलित ऐन, नियम तथा कानुनी प्रावधानविपरीत यात्रु ओसारपसार गर्ने, सवारी क्षमताभन्दा बढी यात्रु राख्ने र आफु खुशी भाडा तोकी यात्रुलाई ठग्ने कार्य भइरहेको भन्दै सो ध्यानाकर्षण पत्रमा त्यस्ता सवारी धनीलाई कारबाही गर्न माग गरिएको छ ।यस्ता गतिविधिबारे सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीहरूबाट पटक–पटक गुनासो प्राप्त भइरहेको महासंघको भनाइ छ । निजी प्रयोजनका सवारीसाधनले कानुनविपरीत यात्रु सेवा सञ्चालन गर्दा विधिवत् दर्ता भई सार्वजनिक यातायात सेवा प्रदान गर्दै आएका बस, मिनिबस, माइक्रोबस तथा यात्रुवाहक कालो प्लेटका जिपलगायतका सवारीसाधनको व्यवसाय प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ । गैरकानुनी रुपमा राज्यलाई कर छली रातो प्लेटका(निजी) सवारी साधनले भाडामा यात्रु ओसारेको ज्ञापन पत्रमा भनिएको छ । त्यसैगरी जिल्लामा पठाओ, इन्ड्राइभ लगायतका नाममा दुईपाङ्ग्रे सवारीसाधन सञ्चालन भइरहेको सन्दर्भमा ती सवारीसाधन प्रचलित ऐन, नियम तथा कानुनी प्रावधानअनुसार सम्बन्धित निकायमा दर्ता तथा अनुमति लिएर सञ्चालन भइरहेका छन् वा छैनन् भन्ने विषयमा आवश्यक छानबिन तथा अनुगमन गर्न महासंघले अनुरोध गरेको छ ।

यातायात ऐनअनुसार चलेका सार्वजनिक सवारीलाई मात्र यात्रु ओसारपोसार गर्न पाउने गरी सहजिकरण गरिदिनु हुन अनुरोध गरिन्छ,नियम विपरीतका निजी प्रयोजनका सवारी साधनहरुले सार्वजनिक यातायात व्यवसाय नै विस्थापित हुने गरी भाडामा यात्रु ओसारपोसार गर्दै आएकोले नियम अनुसार आवश्यक कारबाही गरिदिनु अनुरोध गर्दछु र जिल्लामा पठाओ, इन्ड्राइभ लगायतका नाममा दुईपाङ्ग्रे सवारीसाधन सञ्चालन भइरहेको सन्दर्भमा ती सवारीसाधन प्रचलित ऐन, नियम तथा कानुनी प्रावधानअनुसार सम्बन्धित निकायमा दर्ता तथा अनुमति लिएर सञ्चालन भइरहेका छन् वा छैनन् ,कतिपय यातायात व्यवसायी विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको नेपाल यातायात व्यवसायी संघ राष्ट्रिय महासंघ जिल्ला समिति धादिङका जिल्ला संयोजक तुलसी प्रसाद अधिकारीले बताउनु भयो ।

निजी सवारी साधनले जथाभावी भाडा असुलेर, राजस्व छली यात्रु ओसारपसार गरी नियमविपरीत गतिविधि भइरहँदा पनि सम्बन्धित नियामक निकाय तथा ट्राफिक प्रहरीले पर्याप्त अनुगमन र प्रभावकारी कानुनी कारबाही गर्न नसकेको र यस्ता सवारीसाधनको यातायात सेवालाई व्यवस्थित, सुरक्षित, मर्यादित तथा प्रतिस्पर्धात्मक बनाउन जिल्ला प्रशासन कार्यालयबाट आवश्यक पहल, अनुगमन तथा निकायको प्रभावकारी भूमिका आवश्यक रहेनी संयुक्त यातायात बस तथा जिप सेवा प्रा लि अध्यक्ष रामशरण थापा ( राम )ले ओखर न्यूजलाई बताउनु भयो ।

सार्वजनिक यातायात व्यवसायीहरूले निजी सवारीबाट हुने अवैध यात्रु ओसारपसार रोक्न, कानुनको समान रूपमा कार्यान्वयन गर्न तथा दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । अन्यथा आफ्नो व्यवसाय र पेशाको संरक्षणका लागि चरणबद्ध रूपमा नेपाल यातायात व्यवसायी संघ राष्ट्रिय महासंघ जिल्ला समिति धादिङले आन्दोलनमा उत्रन बाध्य हुनुपर्ने चेतावनी दिएका छन् ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल