ads

भोटेकोशी बाढी : ३ हजार २९२ नेपाली र ६२३ विदेशीलाई मृत घोषणा गर्न सिफारिस

शुक्रबार, मंसिर १२, २०८३

theme

रसुवा भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले नेपाल सरकारसमक्ष सिफारिस गरेको छ ।

 

 

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज सम्पन्न समितिको ३८औँ बैठकले उक्त सिफारिस गर्ने निर्णय गरेको हो । समितिका अनुसार ४८ जिल्लाबाट यकिन भई आएका ३ हजार २९२ जना नेपाली नागरिक र १९ विदेशी नियोगबाट यकिन भई आएका ६२३ जना विदेशी नागरिक गरी कुल ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गरिएको हो । विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत्युको घोषणा गर्न सक्ने व्यवस्था छ । यसअघि नेपाली नागरिकको हकमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा विवरण संकलन गरिएको थियो । विदेशी नागरिकको हकमा भने सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट प्राप्त सूचीका आधारमा प्रक्रिया अघि बढाइएको थियो ।

 

 

यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई चरणमा सातदिने सूचना प्रकाशन गरी बेपत्ता व्यक्तिसम्बन्धी दाबी पेस गर्न आह्वान गरेको थियो । त्यसैगरी, बैठकले ‘सबैका लागि पूर्वसूचना (Early Warning for All) राष्ट्रिय मार्गचित्र २०८३/०८७’ स्वीकृत गरेको छ । उक्त मार्गचित्रले २०८७ सालसम्म नेपालका सबै समुदायमा प्रकोपसम्बन्धी पूर्वसूचना पुर्‍याउने लक्ष्य राखेको छ । यसका लागि बहुप्रकोप पूर्वसूचना प्रणालीको विस्तार, स्तरोन्नति र प्रभावकारी सञ्चालनमा जोड दिइएको छ । बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ एवं कार्ययोजना २०८३/८४ देखि २०९१/९२ सम्म र वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना २०८३–२०८७ समेत स्वीकृत गरेको छ ।

 

 

बैठकले विभिन्न जिल्लाका जोखिमयुक्त बस्तीका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्वीकृति दिएको छ । निर्णयअनुसार डडेल्धुराको आलिताल गाउँपालिका–१ स्थित भोका गाउँ र माला गाउँका २४ घरधुरी तथा वडा नम्बर २ को बलौचा गाउँका २२ घरधुरीलाई सुरक्षित स्थानमा सारिनेछ । त्यस्तै, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित मुडुङ्गे बस्तीका ४० घरधुरीलाई फुदवाङमा र गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित देवल गाउँका ३२ घरधुरीलाई सोही पालिकाको फिलिम गाउँमा स्थानान्तरण गर्न स्वीकृति दिइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रवक्ता र सूचना अधिकारी रामबहादुर केसीले जानकारी दिनुभयो ।

 


 

बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्का कारण जोखिममा रहेका नागरिकको सुरक्षा र भविष्यमा हुन सक्ने मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले सरकारले पूर्वसूचना प्रणालीको विकास तथा जोखिमयुक्त बस्ती स्थानान्तरणका कार्यक्रमलाई समेत अघि बढाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल