नीलकण्ठ नगरपालिका–३,धादिङको निष्ठा श्रेष्ठको उमेर १७ वर्ष भयो । तर ब्याडमिन्टनमा उनको अनुभव र उपलब्धिको निकै लामो छ । प्रदेशस्तरका विभिन्न ब्याडमिन्टन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न विधामा सफलता हासिल गरेकी छन् ।

कलिलो उमेरदेखि ब्याडमिन्टन र्याकेट समात्दै विभिन्न बाधा अवरोधलाई झेल्दै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशको महिला ब्याडमिन्टन टिममा धादिङकी निष्ठा श्रेष्ठ छनोट भएकी छन् । श्रेष्ठले प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगितामा यू–१५ गल्र्स विधातर्फ तेस्रो स्थान हासिल गरेकी छन् । त्यस्तै, दोस्रो शेडिङ मेयर्स कपमा महिला एकल तथा महिला जिल्ला स्तरीय विधामा तेस्रो स्थान प्राप्त गरेकी छन् । बागमती प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा पनि उनको प्रदर्शन उल्लेखनीय रहेको छ। पहिलो बागमती प्रदेश प्रतियोगितामा तेस्रो स्थान हासिल गरेकी श्रेष्ठले दोस्रो बागमती प्रदेश प्रतियोगितामा मिक्स डबल्सतर्फ तेस्रो र टिम गेमतर्फ प्रथम स्थान प्राप्त गरेकी छन् ।

त्यस्तै, तेस्रो बागमती प्रदेश प्रतियोगितामा मिक्स डबल्सतर्फ दोस्रो, महिला एकलतर्फ तेस्रो र टिम गेमतर्फ तेस्रो स्थान हासिल गर्न सफल भएकी छन् ।राष्ट्रियस्तरको अखिल नेपाल जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा समेत श्रेष्ठले यू–१५ मिक्स डबल्स र यू–१७ मिक्स डबल्स दुवै विधामा तेस्रो स्थान हासिल गरेकी छन्। त्यस्तै, गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा यू–१५ गल्र्स विधातर्फ पनि तेस्रो स्थान प्राप्त गरेकी छन् ।

श्रेष्ठले प्रधानमन्त्री कप, १३औँ तथा १४औँ पुष्पलाल स्मृति राष्ट्रिय ¥याङ्किङ प्रतियोगिता, विश्व जुनियर च्याम्पियनसिप, बागमती प्रदेशस्तरीय प्रतियोगिता, दोस्रो तथा तेस्रो शेडिङ मेयर्स कप, अखिल नेपाल जुनियर ब्याडमिन्टन च्याम्पियनसिप, प्रथम सीडीओ कप अखिल नेपाल, प्रथम पोखरा मेयर्स कप र दोस्रो मोहन भुगोल स्मृति प्रतियोगितालगायतका प्रतियोगितामा सहभागिता जनाएकी छन् ।

सानै उमेरदेखि ब्याडमिन्टन खेलमा सक्रिय श्रेष्ठले विभिन्न प्रतियोगितामा हासिल गरेको सफलताले धादिङको खेल क्षेत्रलाई समेत चिनाउन र निरन्तरको अभ्यास, मेहनत र लगनशीलताका कारण राष्ट्रिय तथा प्रदेशस्तरमा आफ्नो पहिचान बनाउँदै लगेकी श्रेष्ठबाट आगामी दिनमा अझ उत्कृष्ट नतिजाको अपेक्षा गरिएको जिल्ला ब्याडमिन्टन संघ धादिङका अध्यक्ष विष्णसलाल श्रेष्ठले बताउनु भयो ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने धादिङका खेलाडीको संख्या १४ पुगेको छ । हालसम्म धादिङबाट विभिन्न खेल विधामा छनोट भएका खेलाडीमध्ये महिला भलिबलतर्फ सिद्धलेककी रेविका लामा, नीलकण्ठकी सलिना गुरुङ र थाक्रेकी भावना तामाङ रहेका छन् । पुरुष भलिबलतर्फ रुबीभ्यालीका प्रकाश तामाङ छनोट भएका छन् ।

त्यस्तै, महिला कबड्डी टिममा सलोमी मगर, आलिसा अधिकारी र धना राहाडी मगर छनोट भएका छन् । पुरुष कबड्डी टिममा अर्जुन तामाङ, सुलभ खतिवडा, सुनील भुजेल, प्रमोद श्रेष्ठ र विशाल सापकोटा रहेका छन् । कराँतेको ७५ केजी तौल समूहमा त्रिपुरासुन्दरी गाउँपालिका–४ कार्कीगाउँका निसान मल्ल पनि बागमती प्रदेशबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने भएका छन् ।

कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा धादिङका खेलाडीको सहभागिता बढ्दै जाँदा जिल्लाको खेलकुद क्षेत्रमा उत्साह थपिएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल