ads

आजदेखि उत्तरी धादिङको ढाँडखर्कमा गङ्गाजमुना माई मेला, मुख्यमन्त्रीले उद्घाटन गर्ने

बिहीबार, मंसिर ४, २०८३

theme

उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५, फूलखर्कस्थित ढाँडखर्कको पहरामा प्रसिद्ध धार्मिक तथा सांस्कृतिक गङ्गाजमुना माई मेला आज (मङ्सिर ३ गते) देखि सुरु हुँदैछ । 

 


 

यस वर्ष हरिबोधिनी एकादशी मङ्सिर ४ गते परेको छ ।  एकादशीको अघिल्लो रात जाग्राम बस्ने र भोलिपल्ट बिहान पवित्र जलधारामा स्नान गरी गङ्गाजमुना माईको दर्शन तथा पूजाआजा गर्ने धार्मिक परम्पराअनुसार मेला दुई दिनसम्म सञ्चालन हुनेछ । गङ्गाजमुना क्षेत्र विकास कोष र गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाका अनुसार मङ्सिर ३ गते बिहान ११ बजेदेखि औपचारिक कार्यक्रम सुरु हुनेछ ।  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले मेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । मेलाका अवसरमा विभिन्न सांस्कृतिक झाँकी, परम्परागत नाचगान तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ ।  धार्मिक अनुष्ठानसँगै स्थानीय कला, संस्कृति, भेषभूषा र परम्पराको प्रदर्शनले मेलालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ । प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको अनुपम संगम मानिने गङ्गाजमुना क्षेत्रमा पहराको माथिबाट निरन्तर खसिरहने दुई जलधाराले यस क्षेत्रलाई विशेष बनाएको छ ।  झरनाको आवाजसँगै भजन, कीर्तन र बाजागाजाको धुन मिसिँदा मेलास्थलको वातावरण नै भक्तिमय बन्ने गर्दछ। परम्परागत भेषभूषामा सजिएका झाँक्रीको नाच, रातभर जाग्राम बस्ने भक्तजन र बिहानै जलधारामा स्नान गरी पूजाआजा गर्ने दृश्य मेलाका प्रमुख आकर्षण हुन् ।

 


गङ्गाजमुना मेला धार्मिक आस्थाको केन्द्र मात्र नभई उत्तरी धादिङको मौलिक कला, संस्कृति र परम्परा चिनाउने महत्वपूर्ण अवसरसमेत हो ।  यहाँ दर्शन गर्न आउने भक्तजनले धार्मिक विश्वाससँगै प्राकृतिक सौन्दर्य र स्थानीय सांस्कृतिक जीवनशैलीको अनुभव गर्ने अवसर पाउँछन् । मेलामा धादिङसहित रसुवा, नुवाकोट, गोरखा, चितवन, तनहुँ, लमजुङ, कास्की र काठमाडौँलगायत जिल्लाबाट श्रद्धालु तथा पर्यटक आउने गरेका छन् । कोही वर्षौँदेखि गर्दै आएको भाकल पूरा गर्न, कोही मनोकामना लिएर दर्शन गर्न त कोही प्राकृतिक झरना र मेलाको सांस्कृतिक वातावरण अवलोकन गर्न गङ्गाजमुना पुग्ने गर्दछन् ।

 

 

गङ्गाजमुनाको पहरासँग दुई दिदीबहिनीको कथा गाँसिएको छ। स्थानीय समुदायमा प्रचलित किंवदन्तीअनुसार गङ्गा र जमुना नामका दिदीबहिनी हराएपछि परिवारजन उनीहरूलाई खोज्दै पहराको गुफासम्म पुगे ।  गुफाभित्रबाट दिदीबहिनीले आफूहरू सुरक्षित रहेको जनाउँदै त्यहीँ पूजाआजा गर्न आग्रह गरे। उनीहरूकै सम्झनामा गङ्गाजमुना माईको पूजा र मेला सुरु भएको जनविश्वास छ । पुस्तौँदेखि सुनिँदै आएको यस कथाले झरनालाई मानिसको आस्थासँग जोडेको छ। पहरामा झर्ने पानीसँगै गङ्गा र जमुनाको सम्झना पनि स्थानीय जनजीवनमा बगिरहेजस्तो लाग्छ ।  झरनामा स्नान गर्ने, पहरामा रहेको मन्दिरमा महादेवको पूजा गर्ने, फूलको डोली चढाउने र बत्ती बाल्ने चलनमा त्यही परम्पराको निरन्तरता भेटिन्छ ।

गाउँपालिकाको नाम पनि यही धार्मिकस्थलबाट राखिएकाले गङ्गाजमुना स्थानीय भूगोल र सामूहिक पहिचानसँग जोडिएको छ। झरनानजिकैको ‘कुकुरधारा’मा स्नान गर्ने परम्परा पनि छ। त्यहाँ नुहाउँदा जनावरले टोकेको दोष निवारण हुने धार्मिक जनविश्वास छ। यस्ता विश्वासले यहाँका फरक जलधारा र पूजास्थललाई भक्तजनका आ–आफ्ना मनोकामनासँग जोडेको छ । 

 

 

एकादशीको बिहान स्नान र दर्शन सकेर भक्तजन फर्कन्छन्। बाजाको धुन र मानिसको चहलपहल थामिन्छ; पहराबाट झर्ने जलधाराको आवाज भने रहिरहन्छ ।  फर्कनेका मनमा फेरि आउने चाहना बाँकी रहन्छ। त्यही चाहना र पुस्तौँदेखि सुनिँदै आएको दिदीबहिनीको कथाले गङ्गाजमुनाको पहरामा अर्को मेलाको प्रतीक्षा जीवित राख्छ । 

 

 

धार्मिक पर्यटनको सम्भावना बोकेको गङ्गाजमुना क्षेत्रको पहिचान र प्रवर्द्धनका लागि पनि यो मेला महत्वपूर्ण मानिन्छ। स्थानीयस्तरमा धार्मिक पर्यटन, व्यापार तथा आर्थिक गतिविधि बढाउन मेलाले योगदान पुर्‍याउँदै आएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल