गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण धादिङका ७५ वटा उद्योग तथा व्यवसाय पूर्ण रूपमा बन्द भएका छन् । बाढीबाट जिल्लाका विभिन्न स्थानमा सञ्चालित उद्योग, व्यापार, होटल, कृषि तथा सेवा क्षेत्रका व्यवसायमा ठूलो क्षति पुगेको धादिङ उद्योग वाणिज्य संघले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ ।

धादिङ उद्योग वाणिज्य संघका अनुसार गजुरी, गल्छी, बेनीघाट रोराङ र सिद्धलेक गाउँपालिकामा रहेका आफ्ना सदस्य व्यवसायहरूको क्षति विवरण संकलन गरी तयार पारेको प्रतिवेदनमा कुल ८३ वटा भन्दा बढी साना तथा ठूला उद्योग तथा व्यवसायमा क्षति पुगेको उल्लेख छ । प्रतिवेदनअनुसार ७५ वटा व्यवसाय पूर्ण रूपमा बन्द भएका छन् भने ५ वटा व्यवसाय सञ्चालनमा रहे पनि प्रभावित भएका छन् । त्यस्तै, २ वटा व्यवसाय आर्थिक रूपमा बन्द भएका छन् । सर्वेक्षण गरिएका व्यवसायमध्ये करिब ९१ प्रतिशत पूर्ण रूपमा बन्द भएको प्रतिवेदनमा उल्लेख छ । बाढीबाट मानवीय क्षति भने शून्य रहेको जनाइएको छ । क्षेत्रगत रूपमा हेर्दा गल्छीका २०, गजुरीका १७, बेनीघाट रोराङका ४४ र सिद्धलेकका २ वटा व्यवसायको क्षति विवरण संकलन गरिएको छ । व्यापार क्षेत्रका ४५ वटा, उद्योग क्षेत्रका २२ वटा, होटल क्षेत्रका ८ वटा, कृषि क्षेत्रका ४ वटा, पशुपालन क्षेत्रका २ वटा र सेवा क्षेत्रको एउटा व्यवसायमा क्षति भएको प्रतिवेदनमा उल्लेख छ । बाढीबाट मेसिन तथा उपकरण, व्यवसायिक भवन तथा पसल, तयारी सामान, गोदाममा रहेका सामग्री, सवारीसाधन र कार्यालय सामग्रीमा क्षति पुगेको छ । प्रतिवेदनमा ६४ व्यवसायका मेसिन तथा उपकरण, २८ व्यवसायका भवन तथा पसल, १६ व्यवसायका तयारी सामान तथा स्टक, ६ व्यवसायका सवारीसाधन र ५ व्यवसायका कार्यालयमा क्षति पुगेको उल्लेख छ ।

"बाढीबाट करिब ३० करोड ६० लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । क्षतिग्रस्त उद्योग तथा व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन मात्रै करिब १५ करोड ७० लाख रुपैयाँ आवश्यक देखिएको छ । " बाढी प्रभावित व्यवसायीहरूले सहुलियतपूर्ण कर्जा, कर छुट, नगद सहयोग, ऊर्जा पुनःजडान, मेसिन तथा उपकरण र कच्चा पदार्थ सहयोग चाहिने भन्दै ६७ व्यवसायले सहुलियतपूर्ण कर्जा, ४८ व्यवसायले कर सहुलियत, ३७ व्यवसायले नगद सहयोग, १६ व्यवसायले ऊर्जा पुनःजडान, १५ व्यवसायले मेसिन तथा उपकरणहरुको माग गरेको धादिङ उद्योग वाणिज्य संघका महासचिव तिलक सिंखडाले ओखर न्यूज डट कम लाई जानकारी दिनुभयो ।

प्रभावित व्यवसायी रमेश वि सी भन्नुहुन्छ-केही उद्योगीहरू त शून्यमै पुगेका छन् । क्रसर, टिप्पर सबै बग्यो । खोलाछेउमा भएका सबै प्रकारका उद्योग तथा व्यवसाय बगेका छन्, ‘सबै व्यवसाय बैंकको ऋणमा सञ्चालन भएकोले सरकारले ऋणको ब्याज मिनाहा गरिदिनुपर्यो ।’ इन्स्योरेन्समार्फत पनि बिना झमेला सहयोगको प्रबन्ध मिलाइदिनुपर्यो, यो संकटको समयमा सरकार र बैंकहरूले सहयोग गर्नुभयो भने हामी फेरि उठ्छौँ ।
त्यस्तै अर्का व्यवसायी इश्वरी प्रसाद धिताल भन्नुहुन्छ-"लामो समय विदेशमा दुःख गरेर कमाएको पैसाले स्वदेशमै केही गरौँ भनेर सानो व्यवसाय सुरु गरेको थिएँ । व्यवसाय विस्तारै उठ्दै थियो । यही समयमा बाढी आइदियो,अहिले हामीसँग केही पनि छैन,ठूलो मर्कामा परेका छौँ । गर्दै आएको व्यवसाय फेरि सञ्चालन गर्न राज्यको सहयोग चाहिन्छ ।"

अर्का व्यवसायी उमेश रुवालीका भनाइ अनुसार दीर्घकालीन नीतिसँगै तत्काल पुनरुत्थानको कार्यक्रम आवश्यक रहेको बताए । विदेशमा लामो समय काम गरेर कमाएको रकमबाट सुरु गरेको व्यवसायसमेत बाढीले ध्वस्त भएको छ,सहजीकरणका लागि एकद्वार प्रणाली लागू गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै धादिङ उद्योग वाणिज्य संघका प्रमुख कायॅकारी अधिकृत रमेश अधिकारीले बाढीले निजी क्षेत्रका उद्योगी व्यवसायी साथीहरूलाई एकदमै पीडा दिएको र उद्योगी ब्यबसायिले पुन: उद्योग सञ्चालन गर्न चाहेकोले संघले आयकर, भ्याट र अन्तःशुल्कमा कानुनी सहुलियत तथा कागजात बुझाउने समयसीमा थप गर्न भनि सरकारको ध्यानाकर्षण गराउन धादिङ उद्योग वाणिज्य संघ मार्फत नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाएको र बीमा गरेका व्यवसायीका कागजातसमेत बाढीले बगाएकाले बीमा दाबीको रकम सहज रूपमा भुक्तानी गरिदिनुपर्ने बताउनुभयो ।

बाढीले भौतिक संरचनामा मात्रै नभई स्थानीय अर्थतन्त्र, रोजगारी र निजी क्षेत्रको लगानीमा समेत गम्भीर असर पारेको प्रतिवेदनले देखाएको छ। प्रभावित व्यवसायलाई समयमै राहत, सहुलियत र पुनर्स्थापनाको व्यवस्था गर्न नसकिए स्थानीय आर्थिक गतिविधि थप प्रभावित हुन सक्ने देखिन्छ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल