नीलकण्ठ नगरपालिका, धादिङका उपप्रमुख तथा न्यायिक समितिका संयोजक दीपक विश्वकर्माको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलसहितको टोलीले डोल्पा जिल्लाका विभिन्न स्थानीय तह, सरकारी कार्यालय तथा महत्वपूर्ण स्थलहरूको अवलोकन गरेको छ ।

अवलोकनका क्रममा टोलीले ठूलीभेरी नगरपालिकाको न्यायिक समिति कार्यालयमा नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक छिरिङ टोल्मा महतसँग भेटघाट गरेको थियो । भेटका क्रममा न्यायिक समितिको कार्यसम्पादन, न्याय निरूपण प्रक्रिया तथा स्थानीय तहमा न्यायिक सेवा प्रवाहका विषयमा अनुभव र सिकाइ आदानप्रदान गरिएको थियो । त्यसैगरी, ठूलीभेरी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष भक्तबहादुर भण्डारीसँग भेटघाट गर्नुका साथै स्थानीय समुदायसँग अन्तरक्रिया गरिएको थियो । टोलीले डोल्पो क्याम्पससहित सदरमुकाम दुनैस्थित विभिन्न सरकारी कार्यालयहरूको समेत अवलोकन गरेको थियो ।

यसैक्रममा त्रिपुरासुन्दरी नगरपालिकाका विभिन्न स्थान तथा वडा नं. १ को अवलोकन गर्दै नगरपालिकाका वडा अध्यक्ष एवं नगर प्रवक्ता रामचन्द्र कुलालसँग भेटघाट गरिएको थियो । भेटका क्रममा स्थानीय विकास, सेवा प्रवाह तथा असल अभ्यासका विषयमा अनुभव र सिकाइ आदानप्रदान गरिएको थियो । अवलोकन भ्रमणका क्रममा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरको दर्शनसमेत गरिएको थियो। साथै, धादिङमा लाग्ने माई मेलासँग मिल्दोजुल्दो धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस क्षेत्रको मेला, परम्परा र संस्कृतिबारे जानकारी लिइएको थियो ।

यस अवलोकन भ्रमणले स्थानीय तहबीच आपसी सम्बन्ध विस्तार, अनुभव आदानप्रदान तथा न्यायिक सेवा प्रवाह र स्थानीय विकासका असल अभ्यासहरू सिक्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल