धादिङको गजुरी गाउँपालिका–६, जरेबगैँचामा आज असोज २४ गते शनिबार एकीकृत स्वास्थ्य शिविर आयोजना हुने भएको छ । गाउँपालिकाको आयोजनामा श्री भानुभक्त माध्यमिक विद्यालयमा सञ्चालन हुने शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोलीले सेवा दिने भएको छ ।

‘स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित गरौँ’ भन्ने नारासहित आयोजना हुन लागेको शिविर बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ । शिविरमा सामान्य चिकित्सा, बालरोग, छालारोग, स्त्रीरोग, हाडजोर्नी तथा ट्रमा सर्जरी, मुटुको स्वास्थ्यसम्बन्धी प्राथमिक सहायता (सीपीआर) तालिम तथा मनोपरामर्शलगायत सेवा उपलब्ध गराइनेछ । शिविरमा सशस्त्र प्रहरी बल नेपालका एसएसपी डा. भरत चन्दले बालरोग सेवा तथा डीएसपी डा. सबिना महर्जनले छालारोगसम्बन्धी सेवा दिनुहुनेछ। त्यसैगरी, डा. निरोज कार्कीले हाडजोर्नी तथा ट्रमा सर्जरी, डा. सोनी नेवाःले स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा प्रदान गर्नुहुनेछ ।

सशस्त्र प्रहरी बल नेपालकी डीएसपी डा. हिमानी पौडेलले आन्तरिक चिकित्सासहित सामान्य चिकित्सा सेवा दिनुहुनेछ भने डा. निशान्त श्रेष्ठ र डा. विशाल कुँवर पनि सामान्य चिकित्सकका रूपमा शिविरमा सहभागी हुनुहुनेछ । माउन्टेन हार्ट नेपालका अध्यक्ष तथा सामान्य चिकित्सक डा. अबन गौतम, शिविर संयोजक डा. राम थापा क्षेत्री र महिला पुनर्स्थापना केन्द्र (वोरेक नेपाल) की टोली संयोजक सुमित्रा पौडेलले पनि शिविर व्यवस्थापन तथा सेवा प्रवाहमा भूमिका निर्वाह गर्नुहुनेछ । इन्जिनियर सौरभ थापाले शिविरको व्यवस्थापन तथा आवश्यक सामग्रीको प्रबन्ध सम्हाल्नुहुनेछ । शिविरमा नेपाली सेनाको बैरेनी ब्यारेकबाट तीन जना पारामेडिकल स्वास्थ्यकर्मीसमेत परिचालन हुने जनाइएको छ । नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, माउन्टेन हार्ट नेपाल, वोरेक नेपाललगायत विभिन्न संघसंस्थाको प्राविधिक सहयोग, समन्वय तथा सहकार्य रहनेछ ।

ग्रामीण क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले आयोजना हुन लागेको शिविरबाट गजुरी तथा आसपासका क्षेत्रका नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ । स्थानीय नागरिकलाई तोकिएको मिति र समयमा शिविरमा उपस्थित भई स्वास्थ्य परीक्षण तथा उपलब्ध सेवाको लाभ लिन आयोजकले आग्रह गरेको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल