दसैँ लगायत ठूला चाडपर्व नजिकिँदै गर्दा बाढीका कारण आपूर्ति व्यवस्था प्रभावित भएको अवस्थामा धादिङ उद्योग वाणिज्य संघले बजारमा सामान अभावको चिन्ता नगर्न र आवश्यकता भन्दा बढी सामान खरिद गरेर भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।

भदौ १० गतेको बाढीले मलेखु क्षेत्रको पुल बगाएपछि धादिङको उत्तरी क्षेत्रसँगको आवागमन र आपूर्ति व्यवस्थामा समस्या आएसँगै केहि दिन अघि बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाबाट सामान ढुवानी गर्न प्रयोग भइरहेको पुलसमेत बगाएपछि धादिङको उत्तरी क्षेत्रको आपूर्ति व्यवस्थामा थप चुनौती सिर्जना भएको छ । उत्तरी धादिङका केही बजार क्षेत्रमा गोरखाबाट सामान आपूर्ति हुँदै आएकोमा पुल बगाएपछि धादिङबेँसी बाटै ती क्षेत्रमा सामान ढुवानी गर्नुपर्ने अवस्था बनेको संघले जनाएको छ। यही अवस्थालाई मध्यनजर गर्दै धादिङ उद्योग वाणिज्य संघले बजारमा कृत्रिम अभाव र कालोबजारी हुन सक्ने भम्दै बजार अनुगमन पनि गरिरहेको जनाएको छ ।

बाढीका कारण नुवाकोटका केही क्षेत्रका उपभोक्ता समेत दसैँको लागि सामान खरिद गर्न धादिङ आउने गरेकाले बजारमा विगतको तुलनामा बढी चहलपहल देखिएको छ । "बर्खायाम सकिँदै गएको र आपूर्ति व्यवस्था सहज बनाउन विभिन्न प्रयास भइरहेको भन्दै संघले उपभोक्तालाइ आवश्यक पर्ने सामान मात्रै खरिद गर्न र अनावश्यक सामान भण्डारण नगर्न अनुरोध गरेको छ ।" एउटै सामानको मुल्यमा अन्तर भएको जन गुनासो आएपछि संघले अनुगमनको क्रममा थप निगरानि बढाएको थियो, अनुगमनको क्रममा मूल्यमा खासै अन्तर नदेखिएको भन्दै बजारको अवस्थाबारे वास्तविकता बुझेर मात्रै धारणा बनाउन धादिङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष तिलक प्रसाद ढुङ्गानाले आम उपभोक्ताहरुलाइ आग्रह गर्नुभयो ।

त्यस्तै "चाडपर्वको समयमा बजारमा मूल्यवृद्धि र कालोबजारी भएको भन्ने गुनासो सुनिए पनि त्यसबारे तथ्य बुझेर मात्रै निष्कर्षमा पुग्न आग्रह छ ।" चाडपर्वको समयमा बजारमा अनावश्यक भीड र अभावको अवस्था सिर्जना हुन नदिन व्यापारी तथा उपभोक्ता दुवै जिम्मेवार हुनुपर्ने धादिङ उद्योग वाणिज्य संघका प्रमुख कायॅकारी अधिकृत रमेश अधिकारीले ओखर न्यूजलाई बताउनु भयो ।

बजारमा कुनै पनि अनुचित व्यापारिक क्रियाकलाप भएको पाइएमा धादिङ उद्योग वाणिज्य संघलाइ तत्काल सूचना दिन समेत उहाँले आग्रह गर्नुभयो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल