धादिङको गजुरी गाउँपालिका–५ गलौदी नजिकै बाढीका कारण सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै काठमाडौं भित्रिने र बाहिरिने सडक खण्डमा दुवैतर्फको यातायात आवागमन ठप्प भएको जनाएको छ । ६५ भन्दा बढी जिल्लालाई संघीय राजधानीसँग जोड्ने देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग अवरुद्ध बन्दा हजारौं यात्रुहरु प्रभावित बनेका छन् । दैनिक १३ हजार भन्दा बढी सवारी गुड्ने यस राजमार्गमा चाडपर्वमा झण्डै तेब्बर सवारी गुड्छन् । अत्यावश्यक सवारी, यात्रुबाहक तथा मालबाहक सवारीहरुको उच्च चाप हुने पृथ्वी राजमार्गको वैकल्पिक मार्ग खोजी र स्तरोन्नति नहुँदा यात्रुहरुले हरेक वर्ष यस्तै सास्ती खेप्दै आएका छन् ।

पहिरो ठूलो रहेकोले राजमार्ग खुल्न केही दिन लाग्ने देखिन्छ । वैकल्पिक मार्गको रुपमा नौविसेबाट हेटौडा पठाइएको छ । पृथ्वी राजमार्ग भएरै जानुपर्ने सवारीहरु काठमाडौंतर्फ नागढुंगा र पोखरातर्फ मुग्लिन आसपास रोकिएको छ’ उनले भने करिब १०० मिटर भाग चर्किएको र २० मिटरभन्दा बढी भाग गहिरिएर भासिएको छ । सडक भासिने क्रम अझै नरोकिएका कारण तत्काल सवारीसाधन सञ्चालन गर्न अत्यधिक जोखिमपूर्ण रहेको प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्कले बताए ।

नागढुंगा–नौबिसे–मुग्लिन सडक आयोजनाको पूर्वी खण्डका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार सडक भासिएर अवरुद्ध बनेको राजमार्ग मुस्किलले शनिबार बेलुकी अथवा आइतबार मात्रै सुचारु गर्न सकिने गलौदीमा त्रिशूली नदीतर्फको सडक किनारमा करिब ६० मिटर क्षेत्रमा चिरा परेको छ । त्यसमध्ये करिब ३५ मिटर सडक भासिएर तल खसेको छ । सडकमा चिरा पर्ने र भासिने क्रम नरोकिएकाले थप क्षति हुन सक्ने जोखिम छ’ उनले भने नदीले कति कटान गरेको छ भनेर हेर्न सकिएको छैन । सडकको कुनामा रहेको डेनसम्मै चर्किएकोले भित्ता कटान नगरी एकतर्फी पनि सञ्चालन गर्न सक्ने अवस्था छैन । हामीसँग उपकरणहरु त पर्याप्त छन् । प्राविधिक टोलीले स्थलगत निरीक्षण र मूल्याङ्कन गरेर आज विहानैबाट काम सुरु गर्छौं । सके शनिबार नसके आइतबारसम्म पृथ्वी राजमार्ग सुचारु गर्छौं ।

अचानक राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि राजधानी काठमाडौं भित्रिने र बाहिरिने सयौँ सवारीसाधन र हजारौं यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। चाडपर्वको समयमा मुख्य नाका नै ठप्प हुँदा यात्रा गर्ने तयारीमा रहेका सर्वसाधारण मारमा परेका छन् ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल