धादिङ जिल्लामा धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र सहकार्य कायम गर्दै धादिङलाई शान्ति, एकता र सहअस्तित्वको नमुना जिल्ला बनाउने प्रतिबद्धता विभिन्न धर्मका धर्मगुरुहरूले जनाएका छन् ।

नागरिक समाज धादिङको आयोजनामा धादिङबेँसीमा भएको सद्भाव प्रवचन तथा नागरिक समाज भेलामा विभिन्न धर्मका धर्मगुरु तथा नागरिक समाजका प्रतिनिधिले सामाजिक सद्भावसम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् । नागरिक समाज धादिङका अध्यक्ष उत्तम कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा धर्म फरक भए पनि सबै धर्मको मूल उद्देश्य शान्ति, प्रेम, क्षमा, सद्भाव र मानव सेवा रहेको धारणा व्यक्त गरिएको थियो । धार्मिक आस्थाका आधारमा समाजमा विभाजन, द्वेष र घृणा सिर्जना हुन नदिने तथा साझा मानवीय मूल्य र मानवताको आधारमा सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ ।

प्रतिबद्धता पत्रमा धार्मिक सहिष्णुता र सम्मान, विभेदको अन्त्य, सद्भाव र सहकार्य, द्वेष तथा हिंसाको रोकथाम, जिम्मेवार अभिव्यक्ति तथा शान्ति र एकता गरी छ विषय समेटिएका छन् । सबै धर्म, समुदाय, परम्परा, संस्कृति र आस्थाप्रति समान सम्मान र सहिष्णुतापूर्ण व्यवहार गर्ने तथा धर्म, जात, लिङ्ग, भाषा, संस्कृति वा आस्थाका आधारमा हुने कुनै पनि प्रकारको भेदभाव, घृणा, अपमान र विभाजनलाई निरुत्साहित गर्ने प्रतिबद्धता गरिएको छ ।

त्यस्तै, अन्तरधार्मिक संवाद र सहकार्यलाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा एकजुट भएर काम गर्ने प्रतिबद्धता धर्मगुरुहरूले जनाएका छन् । धर्मका नाममा फैलाइने अफवाह, घृणा, उत्तेजना तथा हिंसात्मक गतिविधिको सामूहिक रूपमा विरोध गर्दै शान्ति, मानवता र सहअस्तित्वको प्रवद्र्धन गर्ने प्रतिबद्धता पनि गरिएको छ । सार्वजनिक कार्यक्रम, धार्मिक प्रवचन तथा सामाजिक सञ्जालमा अरूको आस्था र भावनामा चोट नपुग्ने गरी संयमित, मर्यादित र सम्मानजनक भाषा प्रयोग गर्ने उल्लेख प्रतिबद्धता पत्रमा छ । धार्मिक तथा सांस्कृतिक विविधतालाई जिल्लाको साझा सम्पत्तिका रूपमा स्वीकार गर्दै धादिङलाई ‘शान्ति, सद्भाव, एकता र सहअस्तित्वको नमुना जिल्ला’ बनाउन निरन्तर योगदान गर्ने प्रतिबद्धता समेत धर्मगुरुहरूले जनाएका छन् ।

प्रतिबद्धता पत्रमा विश्व हिन्दु महासंघका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, नेपाल बौद्धधर्म विश्व शान्ति चक्र संघका अध्यक्ष गंगाबहादुर लामा, धादिङ इसाई समाजका अध्यक्ष लेकबहादुर तामाङ र मुस्लिम समाज धादिङका अध्यक्ष समसुदिन मियाँले हस्ताक्षर गरेका छन् । कार्यक्रममा सहभागी अन्य धर्मगुरु तथा नागरिक समाजका प्रतिनिधिहरूले समेत प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल