भोटेकोशी बाढीले धादिङमा मात्रै ११४ घर पूर्ण रूपमा क्षतिग्रस्त, १५० जना सम्पर्कविहीनमध्ये १४ जनाको शव सनाखत
भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीका कारण धादिङमा ५ सय १७ परिवार विस्थापित र १ सय १४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।भोटेकोशी बाढीले धादिङका गल्छी, गजुरी, बेनीघाट रोराङ र सिद्धलेक गाउँपालिकाका विभिन्न क्षेत्रमा सडक, पुल, घर, खानेपानी तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ ।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि धादिङमा १ सय ५० जना सम्पर्कविहीन भएका थिए । प्रशासनले संकलन गरेको विवरणअनुसार नीलकण्ठ नगरपालिकाबाट सबैभन्दा धेरै ३८ जना सम्पर्कविहीन रहेका छन् । त्यस्तै गंगाजमुना गाउँपालिकाबाट १५, रुबीभ्यालीबाट १३, गल्छीबाट १३, धुनीबेँसीबाट १२, खनियाबासबाट ८, गजुरी र बेनीघाट रोराङबाट ७/७, सिद्धलेकबाट ६, नेत्रावती डबजोङबाट ५ तथा ज्वालामुखी र त्रिपुरासुन्दरीबाट २/२ जना सम्पर्कविहीन रहेको प्रशासनको तथ्यांकमा उल्लेख छ । तीमध्ये १४ जनाको शव सनाखत भएको विवरणमा उल्लेख छ । बाढीबाट सबैभन्दा बढी प्रभावित गल्छी गाउँपालिकामा मात्रै २ सय ७९ परिवार विस्थापित भएका छन् । त्रिशूली नदीमा आएको बाढीले २ वटा पक्की पुल र ६ वटा झोलुङ्गे पुलसमेत बगाएको छ । त्यस्तै गजुरी गाउँपालिकामा २ सय १६, बेनीघाट रोराङ गाउँपालिकामा २० र सिद्धलेक गाउँपालिका–७ मा २ परिवार विस्थापित भएका छन् । विस्थापित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न स्थानीय तह, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाले राहत, उद्धार तथा पुनर्स्थापनाका काम अघि बढाइरहेका छन्। तर बाढीपछि विस्थापित भएका परिवारलाई सुरक्षित र स्थायी रूपमा पुनर्स्थापित गर्नु अहिले मुख्य चुनौती बनेको छ ।

बाढीबाट विस्थापित परिवारको अस्थायी व्यवस्थापनका लागि गजुरी गाउँपालिकामा दुई वटा होल्डिङ सेन्टर सञ्चालनमा रहेका छन् । गजुरी गाउँपालिका–५, गलौदीस्थित होल्डिङ सेन्टरमा ४६ परिवारका १ सय ४४ जना र गजुरी गाउँपालिका–६, रातमाटेस्थित होल्डिङ सेन्टरमा ३८ परिवारका ९८ जना अस्थायी आश्रय लिएर बसिरहेका छन् । बाढीबाट घरमा बस्न नसक्ने अवस्था भएपछि कतिपय परिवार होल्डिङ सेन्टरमा आश्रय लिन बाध्य भएका छन् भने केही परिवार आफन्तको घरमा बसिरहेका छन् । गल्छी गाउँपालिकाले बाढीबाट विस्थापित भएका १ सय ६ परिवारलाई राहत सामग्रीसहित कोठा भाडाको व्यवस्था गरेर अस्थायी रूपमा व्यवस्थापन गरेको छ ।

बाढीपछि तत्कालीन राहत र उद्धारसँगै अब विस्थापित परिवारको दीर्घकालीन पुनर्स्थापना, सुरक्षित आवास तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण धादिङका लागि प्रमुख चुनौती बनेको छ ।
-
- लोकप्रिय समाचार
-
बाढीले घर डुबाएपछि गलौदीका ४२ परिवार जंगलमा, तरुण दलद्वारा पानीका जार र शौचालय निर्माणमा सहयोग -
विपत्तिमा सहारा बन्दै तरुण दल, गजुरी–५ का बाढीपीडितलाई खाद्यान्न सहयोग -
दुई हप्ता बित्दा पनि फुर्केखोला पुलको विकल्प बनेन, वैकल्पिक सडक हिलाम्मे; सूचना निकालेर मात्रै आवागमन सहज नहुने गुनासो -
बाढीपीडितका लागि विदेशमा रहेका धादिङवासीले जुटाए ५८ लाख -
बाढीपीडितका लागि नेपाल गजल प्रतिष्ठानले प्रधानमन्त्री राहत कोषमा १ लाख १३ हजार ३६९ रुपैयाँ जम्मा गर्यो -
भोटेकोशी–त्रिशूली बाढी : मानवीय क्षति १,३६७, अझै ५ हजारभन्दा बढी सम्पर्कविहीन