बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि देशका विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

विभागले कात्तिक ९ गते सोमबार बिहान जारी गरेको पाँचदिने मौसम पूर्वानुमान बुलेटिनमा कात्तिक १२ गतेदेखि वर्षाको सम्भावना बढ्ने र केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा हिमपात हुन सक्ने उल्लेख गरेको छ ।विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहे पनि तराई, उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने गरेको छ ।
सोमबार कात्तिक ९ गते देशको हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। राति कोशी तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने सम्भावना छ । मंगलबार कात्तिक १० गते कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ। राति देशभर आंशिकदेखि सामान्य बदली हुने तथा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ ।

बुधबार कात्तिक ११ गते देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। राति हिमाली भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा वा हिमपात हुन सक्नेछ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ । बिहीबार कात्तिक १२ गते देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ ।
यसै दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ । लुम्बिनी प्रदेशको पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार कात्तिक १३ गते देशका अधिकांश भू–भागमा बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेश प्रदेश र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्नेछ। त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा वा हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले कात्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्मको अवधिमा विभिन्न प्रदेशमा वर्षा तथा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने भएकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता विपद्को जोखिम रहन सक्ने विभागले जनाएको छ ।
वर्षा तथा हिमपातका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन र विभागबाट जारी हुने पछिल्लो मौसम पूर्वानुमान तथा सूचनाबारे अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।
धादिङसहित बागमती प्रदेशका नागरिकले पनि सम्भावित वर्षा र त्यसबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै यात्रा, कृषि कार्य तथा दैनिक गतिविधि सञ्चालन गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल