नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नुका साथै आपूर्ति व्यवस्थापनमा परेको दबाबका कारण निगमले पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा मूल्य समायोजन गरेको जनाएको छ ।

निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य २०८२ चैत १ गते रातिदेखि लागू भएको छ । समायोजनअनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य बढाइएको हो । नयाँ मूल्यअनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १७१ रुपैयाँ र तेस्रो वर्गमा १७२ रुपैयाँ कायम गरिएको छ । त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य पहिलो वर्गमा १४१ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४३ रुपैयाँ र तेस्रो वर्गमा १४४ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको निगमले जनाएको छ ।

मध्यपूर्व र पश्चिम एसियामा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको र त्यसको प्रभाव आपूर्ति व्यवस्थापनमा परेको निगमको भनाइ छ । आफ्नै पेट्रोलियम स्रोत नभएका देशका लागि मूल्य समायोजन र आपूर्ति व्यवस्थापन दुवै चुनौतीपूर्ण हुने निगमले उल्लेख गरेको छ ।

नेपालले पेट्रोलियम पदार्थ भारतबाट खरिद गर्दै आएको छ । भारतबाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा नेपालमा पनि खुद्रा मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ ।

गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल