यस वर्षको तिहारमा देशभर करिब ५१ लाख ८० हजार फूलका माला खपत हुने अनुमान गरिएको छ । माला बिक्रीबाट मात्रै करिब ४८ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ भने घर, आँगन तथा कार्यालय सजाउन प्रयोग हुने फूलका थुँगा र गमलासमेत जोड्दा कुल कारोबार ६४ करोड ५० लाख रुपैयाँ पुग्ने अपेक्षा गरिएको छ ।

यस वर्ष तिहारमा सबैभन्दा बढी सयपत्री फूलका माला खपत हुने अनुमान छ । सयपत्रीका ४५ लाख माला बिक्रीबाट मात्रै करिब ४० करोड ५० लाख रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । प्रतिमाला औसत ९० रुपैयाँ थोक मूल्यका आधारमा उक्त कारोबारको अनुमान गरिएको हो । त्यस्तै, मखमली फूलका ६ लाख माला खपत हुने अनुमान गरिएको छ । प्रतिमाला औसत ४५ रुपैयाँ थोक मूल्यका आधारमा मखमली मालाबाट दुई करोड ७० लाख रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ । गोदावरी फूलका २० हजार माला बिक्रीबाट दुई करोड ४० लाख रुपैयाँ र मिक्स फूलका ६० हजार माला बिक्रीबाट पनि दुई करोड ४० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ । गोदावरी मालाको औसत थोक मूल्य प्रतिमाला एक हजार २०० रुपैयाँ र मिक्स फूलको प्रतिमाला ४०० रुपैयाँ निर्धारण गरिएको अनुमानमा उल्लेख छ ।

यस वर्ष मखमली फूलका ६ लाख मालाको माग रहेकोमा चार लाख माला आन्तरिक बजारमा खपत हुने र करिब दुई लाख माला विदेश निर्यात हुने अनुमान गरिएको छ । यसले तिहारका बेला स्वदेशी फूलको बजारसँगै निर्यात व्यापारसमेत बढ्ने अपेक्षा गरिएको छ । नेपालका विभिन्न जिल्लामा मखमली फूलको व्यावसायिक खेती हुँदै आएको छ । काठमाडौंको इचङ्गुनारायण, भक्तपुरको गुन्डु, ललितपुरको गोदावरी–बडिखेललगायत धादिङ, पाल्पा, कैलाली र इलाममा मखमली फूलको खेती गरिँदै आएको छ ।

तिहारमा फूल र मालाको माग उच्च हुने भएकाले व्यावसायिक फूलखेतीमा संलग्न किसानका लागि यो आम्दानीको महत्त्वपूर्ण अवसर बन्ने गरेको छ । सयपत्री, मखमली र गोदावरीलगायत फूलको व्यावसायिक उत्पादनले स्थानीय किसानको आयआर्जनमा योगदान पुर्याउनुका साथै स्वदेशी उत्पादनको बजार विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल