रसुवातर्फ आएको बाढीका कारण त्रिशूली नदीमा बगेर धादिङतर्फ पुगेका व्यक्तिहरूमध्ये अहिलेसम्म ६ जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बुधबार दिउँसो ३ बजेसम्म जिल्लाका विभिन्न स्थानमा त्रिशूली नदीको किनारबाट ६ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार गल्छी गाउँपालिका–६ महेश दोभानमा एक महिलाको शव, गल्छी गाउँपालिका क्षेत्रकै कोल्फुखोला पुलनजिकै दुई पुरुषको शव फेला परेको छ । त्यसैगरी सिद्धलेक गाउँपालिका–७ स्थित त्रिशूली नदीको किनारबाट एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । यस्तै बेनिघाट रोराङ गाउँपालिकाको बेनिघाट बजारनजिकै त्रिशूली नदीको किनारबाट दुई महिलाको शव फेला परेको छ । फेला परेका शवहरूको पहिचान तथा घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव उच्च रहेकाले खोज तथा उद्धार कार्यमा समेत कठिनाइ भइरहेको छ । नदीको तीव्र बहावका कारण थप मानिस बगेको हुनसक्ने आशंकामा प्रहरीले नदी किनारका विभिन्न क्षेत्रमा खोजी गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बाढीमा परेका ७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका केही व्यक्तिहरू घाइते अवस्थामा फेला परेका थिए । उनीहरूलाई तत्काल उद्धार गरी स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरीले त्रिशूली नदी आसपासका बासिन्दालाई नदीको किनारमा नजान तथा सम्भावित जोखिमबाट जोगिन आग्रह गरेको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल