रसुवातर्फबाट त्रिशूली नदीमा आएको भीषण बाढीले धादिङका तीनवटा मोटरेबल पुल बगाएपछि जिल्लाका ग्रामीण क्षेत्रको सडक सम्पर्क प्रभावित भएको छ ।

बुधबार बिहान त्रिशूली नदीमा आएको ठूलो बाढीले गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ जोड्ने फुर्केखोला पुल, गजुरी–५ र सिद्धलेक गाउँपालिका–७ जोड्ने घाटबेसी पुल तथा गजुरी–६ र सिद्धलेक गाउँपालिका–७ जोड्ने जरेखेत पुल बगाएको हो । यी पुलहरू स्थानीय बासिन्दाका लागि गाउँदेखि मुख्य सडक हुँदै जिल्ला सदरमुकाम धादिङबेँसीसम्म आवतजावत गर्ने महत्वपूर्ण मार्गका रूपमा रहेका थिए । पुलहरू बगाएपछि फुर्केखोला, घाटबेसी, जरेखेतलगायत आसपासका बस्तीका नागरिकलाई दैनिक आवतजावत, खाद्यान्न तथा अन्य आवश्यक सामग्री ओसारपसारमा समेत कठिनाइ हुने अवस्था सिर्जना भएको छ । बाढीले पुलमा क्षति पुर्याएसँगै ती क्षेत्रको सडक सम्पर्कसमेत अवरुद्ध भएको छ । यसैबीच त्रिशूली नदीको पानी गल्छी गाउँपालिका–६ स्थित बैरेनी बजारमा प्रवेश गरेपछि बजार क्षेत्र जलमग्न भएको छ । त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको नदी किनारका बस्ती तथा बजार क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । नदीको बहाव बढिरहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।

हालसम्म गल्छी, जिन्टेटार, मासटार र बेनिघाटका पुल भने सुरक्षित रहेको बताइएको छ। यद्यपि नदीमा पानीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले ती पुल तथा आसपासका क्षेत्र पनि जोखिममुक्त नरहेको स्थानीय प्रशासनले जनाएको छ । तीनवटा मोटरेबल पुल नै बगाएपछि गजुरी र सिद्धलेकका विभिन्न ग्रामीण बस्तीको यातायात प्रभावित भएकाले तत्काल वैकल्पिक सडक तथा आवतजावतको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ । स्थानीयवासीले क्षतिग्रस्त पुल तथा सडकको तत्काल निरीक्षण गरी सम्भावित जोखिम न्यूनीकरण र आवतजावत सहज बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल