ads

फुर्केखोला पुल बगेको २० दिन पुग्यो, दैनिक जीवन निकै कष्टकर

सोमबार, भाद्र २९, २०८३

theme

भदौ १० गते भोटेकोशीसहित त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले धादिङको मलेखुस्थित फुर्केखोलाको पक्की पुल बगाएको आज २०औँ दिन पुगेको छ । पुल बगेपछि धादिङबेँसी र पृथ्वीराजमार्गबीचको मुख्य सडक सम्पर्क टुटेको छ ।

 

 

सदरमुकामबाट बाहिरिने र बाहिरी क्षेत्रबाट धादिङबेँसी भित्रिने यातायातका लागि यो पुल अत्यन्त महत्वपूर्ण मार्गका रूपमा रहँदै आएको थियो । धादिङको सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने प्रमुख सडक संरचनामध्ये एक रहेको फुर्केखोला पुल बाढीले बगाएपछि जिल्लाको उत्तरी तथा मध्य क्षेत्रको नियमित यातायात प्रभावित भएको छ ।  पुल सञ्चालनमा रहँदा यसमार्फत दैनिक करिब २०० यात्रुबाहक, १५० मालवाहक तथा ३०० हाराहारीमा साना र दुईपाङ्ग्रे सवारीसाधन आवतजावत गर्ने गरेका थिए । यो सडक धादिङका आठ स्थानीय तह, गोरखाका दुई स्थानीय तह तथा मनास्लु पर्यटन पदमार्गसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण यातायात मार्ग हो ।  यसबाट दुई लाखभन्दा बढी जनसङ्ख्या प्रत्यक्ष रूपमा प्रभावित हुने भएकाले पुलको महत्व धादिङबेँसी आसपासमा मात्र सीमित छैन । पुल बगेपछि सिद्धलेक, ज्वालामुखी, त्रिपुरासुन्दरी, नेत्रावती डबजोङ, गंगाजमुना, खनियाबास, रुबीभ्याली र नीलकण्ठ क्षेत्रबाट सदरमुकाम तथा पृथ्वीराजमार्गतर्फ हुने आवतजावतमा समेत कठिनाइ थपिएको छ । 

 

 

 

बाढी आएको २० दिन बितिसक्दा पनि नदीमा नयाँ पक्की पुल वा बेलिब्रिज निर्माण हुन नसक्दा स्थानीय नागरिकले वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । यसले यात्राको समय र खर्च बढाउनुका साथै दैनिक उपभोग्य सामग्रीको ढुवानीदेखि व्यापार व्यवसायसम्म असर पुर्‍याएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले बताउनु भयाे । "विशेषगरी नजिकिँदै गरेका चाडपर्वका समयमा आवतजावत तथा उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन तत्काल वैकल्पिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ ।"  आपत्कालीन सेवा, बिरामीको उपचार, विद्यार्थीको आवतजावत तथा दैनिक कामकाजका लागि समेत सहज सडक सम्पर्क आवश्यक रहेको अध्यक्ष डल्लाकोटीले जोड दिनुभयो ।

 

 

 

फुर्केखोला पुल धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने एउटा सामान्य पूर्वाधार मात्र नभई जिल्लाको आर्थिक, प्रशासनिक र सामाजिक जीवनसँग प्रत्यक्ष जोडिएको संरचना भएकाले यसको पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने माग बढ्दै गएको छ ।

 

 

 

स्थानीयले नयाँ पुल निर्माण वा तत्कालका लागि बेलिब्रिज जडान गरी यातायात सञ्चालन सहज बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । पुल पुनर्निर्माणको विषय कुनै राजनीतिक स्वार्थभन्दा माथि उठेर नागरिकको सहज आवागमन, आपूर्ति व्यवस्था र स्थानीय अर्थतन्त्रसँग जोडिएको साझा सवालका रूपमा अघि बढाउन आवश्यक छ ।

 

 

 

बाढीले पुल बगाएको २० दिन बितिसक्दा पनि मुख्य सडक सम्पर्क सहज हुन नसक्नुले अब विकल्प खोज्ने मात्र नभई स्थायी समाधानतर्फ तत्काल काम अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल