
डा. नवीनबन्धु पहाडी ( साभार वातावरण शिक्षा )
हामी बसेको जिल्ला ‘धादिङ’ को नाम कहाँबाट आएको हो ? यो त दुई वटा संस्कृत शब्दको मिलनबाट बनेको हो—‘धा’ र ‘दिङ’(दिक्) । धा भन्नाले ‘धारण गर्न ’ र दिक् भन्नाले ‘दिशा’ (उत्तर, दक्षिण, पूर्व, पश्चिम, आकाश, पाताल छ दिशा) अर्थात् दिशालाई धारण गर्न भन्ने अर्थ लाग्छ । यी दुई मिलेर बनेको छ– धादिङ ।

हाम्रा धर्मशास्त्रले बताए अनुसार दिशालाई धारण गर्ने देवता भनेका महादेव हुन् । उनलाई दिगम्बर पनि भनिन्छ । दिगम्बर भनेको दिशा नै लुगा भएका भनिएको हो । ‘दिशा’ यो नाम श्री महादेवसँग पनि जोडिएको छ । भगवान शिवलाई ‘दिगम्बर’ भनिन्छ जसको अर्थ हुन्छ– सारा सृष्टिलाई वस्त्रझै ओढ्ने भगवान । त्यसैले धादिङलाई शिवलोक पनि भनिन्छ तर यसबारे एक रमाइलो कुरा अझै छ । मगर भाषामा पनि ‘ढाडिङ’ भन्ने शब्द रहेछ, जसको अर्थ हुन्छ– झरना, अर्थात् माथिबाट बग्ने खोलाको छाँगो । पुरानो धादिङ भनेको सुनौला बजार हो । त्यहाँ मगरहरूको बस्ती छ र त्यहाँबाट बग्ने खोलाले कुम्पुरसम्म लामो झरना बनाएको छ । त्यसैलाई ढाडिङ् अर्थात् धादिङ् भनिएको हो । त्यसैबाट धादिङको नाम रहेको हो । यसरी हेर्दा धादिङको नाम सँस्कृतको धादिक् र मगर भाषाको ढाडिङसँग जोडिन्छ । धादिङ नेपालकै मध्य भागमा पर्छ । उत्तरतर्फ रसुवा,तिब्बत, पूर्वतर्फ नुवाकोट र काठमाडौ, दक्षिणमा चितवन–मकवानपुर र पश्चिममा गोरखा जिल्ला छन् । यसको सबभन्दा अग्लो ठाउँ ७,११० मिटर उचाईको गणेश हिमाल हो । यो धादिङ लगायत छिमेकी जिल्लामा पनि पर्छ । धादिङमा मात्रै पर्ने हिमाल भने पाविल हो । तलतिर झर्दै जाँदा गजुरी, बेनीघाट, बैरेनी, मलेखु, जोगिमारा जस्ता ठाउँहरू भेटिन्छन् जुन तराई झैँ लाग्छन् ।

धादिङमा हिमाल, पहाड दुईवटै भेगको विशेषता पाइन्छ तर हावापानी भने तराईको गर्मी जस्तै पनि छ । माथिल्लो भेगमा हिउँपर्ने ठाउँहरू छन् जहाँ गोठालाहरू चौरी, तेल्मा, भेडा चराउँछन् । मध्य भागमा हरियाली डाँडाकाँडा, खोला र खेतहरू छन् । तल्लो भागमा झ्याङ्ग बाँसका बोट, तराई जस्ता टारहरू, फाँटहरू छन् जहाँ तरकारी, गहुँ, मकै र धान फल्छ । तपाईं गुफा मन पराउनु हुन्छ नि हैन ? धादिङमा ५० भन्दा बढी गुफा छन् चमेरे गुफा, सिद्धगुफा, गुतेश्वर गुफा, साततले गुफा आदि । यी गुफाहरूमा धेरै वर्षअगाडिका मानिसहरू बस्ने गर्थे । केही गुफाहरू त अझै पनि पूजाआजा मेला उत्सवका लागि चर्चित छन् । त्यस्तै, यहाँ कणेश्वर महादेव, भैरवीकोट, भैरवी मन्दिर, शंखादेवी, गुप्तेश्वर जस्ता शिवका थात थलोहरू छन् जहाँ प्रत्येक वर्ष विशेष मेला लाग्छ ।

धादिङमा धेरै जातजातिका मानिसहरू बस्छन् । तामाङ, मगर, नेवार, क्षेत्री, ब्राह्मण, गुरुङ, दलित, चेपाङ आदि मिलेर बसेका छन् । सबैका आ–आफ्ना संस्कृति, परम्परा, गीत–नाच र भेषभूषा छन् । कतै रोदीघर, कतै मेला, कतै झाँकी, कतै ल्होछार, कतै माघे सङ्क्रान्ति मनाइन्छ । हाम्रै जिल्लामा एउटै चुल्होमा सबैको भात पाक्छ, सबैको मन मिल्छ । यही हो धादिङको विशेषता । पुराना समयमा धादिङ अनेक साना राज्यहरूमा बाँडिएको थियो । राम शाह, प्रताप मल्ल, जयपृथ्वीबहादुर, पृथ्वीनारायण शाह आदिले यहाँ शासन गरे । कतै मगरहरूको राज चल्थ्यो, कतै खस राजाहरूको, कतै त गोरखाबाट पठाइएको रजौटा (राजाका प्रतिनिधि) ले शासन गर्थे यहाँको नेवारपानी कुम्पुर, सेमजोङ, सेर्तुङ जस्ता ठाउँमा अहिले पनि दरबारका अवशेष छन् । धादिङ सधैँ इतिहासमा केन्द्रमा रह्यो—कहिले युद्धका लागि, कहिले सुरक्षा चौकीका लागि, कहिले बाटो बनाउने रणनीतिक ठाउँका लागि यो जिल्ला केन्द्रमा नै थियो ।

काठमाडौँ उपत्यका नजिकै भएकोले यहाँका मानिसहरूले सदियौ देखि त्यहाँ आवातजावत गर्दै आएका छन् । पुराना समयमा राजा–दरबारको भान्सा यहीँबाट पुग्थ्यो—तरकारी, काठ, पानी, ढुंगा, गिटी, बालुवा र मान्छे । अहिले पनि ठूला–ठूला ट्रकहरू यहीँबाट गिटी बालुवा काठमाडौ लैजाँदै गरेको देख्न पाइन्छ । तर बिडम्बना ! राजधानी नजिक भए पनि धादिङका धेरै गाउँमा अझै राम्रो बाटो, अस्पताल, विद्यालय छैनन् । राजधानीलाई पानी दिने खोला यहीँका हुन्, तर हामीकहाँ भने पिउने पानीको धारा छैन । तपाईहरू कथा कविता गीतहरू कति पढ्न मन गर्नुहुन्छ ? धादिङ नेपालकै पुरानो साहित्यिक थलो हो । नेपाल भाषाका कवि सुवानन्द दास, अर्का पुराना कवि दैवज्ञ केशरी अर्याल र उनका छोरा वीरेन्द्र केशरी अर्याल यहीँ जन्मिए । उनीहरूले ‘गौरक्षयोगशास्त्र’, ‘अश्वाशुभाशुभ परीक्षा’ जस्ता साहित्य लेखे । धादिङमा थुप्रै कविहरू जन्मिएका छन् । आज पनि कविता, निबन्ध, कथा लेख्ने लेखकहरू यहीँ छन् । धादिङका गीत, चेपाङ बालकथाहरू, गुरुङ लोककथा, तामाङ नाच, मगर संस्कार सबैले मिलेर धादिङको सास, धड्कन र आत्मा बनाएका छन् ।

धादिङमा बालबालिकाका लागि रमाइला धेरै कुरा छन्ज स्तै बुढीगण्डकी किनारमा माछा समात्न, डाँडामाथि हिंडेर गुम्बामा पुग्न, गुफाहरूका दृश्यहरू हेर्न, स्याउको बगैंचामा स्याउ टिप्न, तामाङ बाजा बजाउने अभ्यास हेर्न, मगर लोकनृत्यमा रमाउन, जलयात्रा गर्न, हिम आरोहण गर्न समेत यहाँ रमाइलो हुन्छ । लालीगुराँसका जङ्गल तातोपानीमा स्नान, हिमचिप्लेटी, पदयात्राहरू पनि यहाँका रमणीय प्राकृतिक कला हो । यहाँका स्कुलमा बालसाहित्य प्रतियोगिता, नृत्य, भाषण, चित्रकला, खेलकुदलगायत अनेक कार्यक्रम हुन्छन् ।पहाडका स्कुलमा झन् रमाइलो लाग्छ बाँसको पाटी, ढुङ्गाको शौचालय, स्थानीय खाद्य मेलाहरू देख्न पाइन्छ । अहिले धादिङमा परिवर्तन आएको छ । बाटाहरू पक्की हुँदैछन्, नयाँ पुलहरू बनेका छन्, स्कुलहरूमा बालमैत्री कोठा थपिएका छन् । गाउँहरूमा इन्टरनेट पनि पुगेको छ । धादिङका धेरै युवायुवतीहरू संसारका ठूला र विकसित भनिने अमेरिका, यूूरोप, जापान, कोरिया, अष्ट्रेलिया, कतार, दुबई जस्ता देश गएका छन् । उनीहरूबाट आएको पैसाबाट गाउँमा घर बनेका छन्, खेतमा सिचाइ भएको छ विद्यालयमा फर्निचर, रङरोगन भएका छन् ।

यति सबथोक हुदाहुदै पनि धादिङमा समस्या अझै छन् । केही ठाउँमा गरिबी छ, बेरोजगारी छ, शिक्षा र स्वास्थ्यको पहुँच अझै कमजोर छ । त्यसैले हामी बालबालिकाले भन्न सक्छौं“हामी धादिङलाई बदल्न चाहन्छौं । यहाँका खोलामा माछा नासिन नदिऔ , जथाभावि रूख काट्न नदिऔ , यत्रतत्र प्लास्टिक छर्न नदिऔ , अनि विद्यालयका पुस्तकहरू छुन डराएर नबसी रमाइलो गरी पढौं ।” परिवर्तन आफ्नै तरिकाले हुन्छ । धादिङ त हाम्रो घर हो । यो हाम्रो परम्परा, हाम्रो गाथा र हाम्रो पहिचान हो । हामीले धादिङलाई चिन्नुपर्छ, माया गर्नुपर्छ, सम्हाल्नुपर्छ । यहीँका डाँडाकाँडा, खेतबारी,बाटाहरूमा हाम्रा हाँसो, भोक र भविष्य सबथोक लुकेको छ । धादिङ बाँच्यो भने हामी बाँच्छौं । धादिङ हाँस्यो भने हामी पनि हाँस्छौं । धादिङ बदलियो भने नेपाल पनि बदलिन्छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ