प्रकाशित समाचारप्रति नेपाली कांग्रेस धादिङको आपत्ति, उम्मेदवार धमलाविरुद्ध चरित्रहत्या प्रयास भएको दाबी

शनिबार, फाल्गुण १६, २०८२

theme

निर्वाचन मिति नजिकिँदै जाँदा धादिङको राजनीतिक वातावरण थप तातिएको छ ।

 

 

 

यही सन्दर्भमा नेपाली कांग्रेस धादिङले विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारहरूप्रति गम्भीर आपत्ति जनाएको छ ।  पार्टीले ती सामग्रीलाई योजनाबद्ध रूपमा तयार पारिएको भ्रामक प्रचार भन्दै औपचारिक खण्डन गरेको हो ।  पार्टीद्वारा जारी विज्ञप्तिमा केन्द्रीय सदस्य तथा धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेदवार रमेशप्रसाद धमला विरुद्ध प्रकाशित समाचारहरू चरित्रहत्या गर्ने उद्देश्यले प्रसारित गरिएको दाबी गरिएको छ ।

 

 

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित पार्ने नियतले मतदातामाझ भ्रम फैलाउने प्रयास भएको आरोपसमेत लगाइएको छ । धादिङ कांग्रेसका सभापति रामनाथ अधिकारी द्वारा हस्ताक्षरित विज्ञप्तिमा सञ्चारमाध्यमको मूल दायित्व सत्य र तथ्यमा आधारित सूचना प्रवाह गर्नु रहेको उल्लेख गरिएको छ ।  राजनीतिक स्वार्थका लागि कसैको छवि धमिल्याउने कार्य अस्वीकार्य हुने स्पष्ट पार्दै प्रेस स्वतन्त्रताको सम्मान गर्ने पार्टीको प्रतिबद्धता दोहोर्‍याइएको छ। साथै स्वतन्त्रताको नाममा गलत सूचना फैलाउने प्रवृत्ति स्वीकार्य नहुने चेतावनी पनि दिइएको छ ।

 

 

 

पछिल्ला केही दिनयता एक अनलाइन सञ्चार माध्यममा “ऋण नतिरेको अभियोगमा कालोसूचिमा परेका थिए धमला, भएको थियो राहदानी जफत!”, “धादिङ २ का उम्मेदवार धमलाका कार्यकर्ताद्वारा दियोपोस्टकर्मीलाई धम्की” तथा “धर्म सन्तानको नाममा डलर हिनामिना गरेको खुलासा” जस्ता शीर्षकमा समाचार प्रकाशित हुँदै आएका छन् । विज्ञप्तिमा धमलालाई प्रजातन्त्र पुनर्स्थापनादेखि हालसम्म सक्रिय राजनीतिक भूमिका निर्वाह गर्दै आएको, संगठन निर्माणमा योगदान दिएको तथा विकास र सामाजिक रूपान्तरणमा अग्रसर नेताका रूपमा उल्लेख गरिएको छ। उनीविरुद्ध लगाइएका आरोपहरू पूर्णरूपमा निराधार रहेको पार्टीको जिकिर छ ।

 

 

पार्टीले यस्ता सामग्रीलाई भ्रमपूर्ण र प्रायोजित भन्दै आम मतदातालाई त्यसबाट प्रभावित नहुन आग्रह गरेको छ। साथै सम्बन्धित अनलाइन सञ्चार माध्यमलाई पत्रकारिताको मर्यादा र पेशागत आचारसंहिताको पालना गर्न सचेत गराएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

100%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल