धादिङमा इन्सेकद्वारा निर्वाचन पूर्वअनुगमन, स्वच्छ र भयरहित मतदानको तयारी पूरा

बुधबार, फाल्गुण १३, २०८२

theme

प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले धादिङमा निर्वाचन पूर्वअनुगमन सम्पन्न गरेको छ ।

 

 

इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेलको नेतृत्वमा भएको पूर्वअनुगमनका क्रममा सुरक्षा निकायका प्रमुखहरू, प्रमुख निर्वाचन अधिकृत, आचारसंहिता अनुगमन अधिकृत, नागरिक समाज तथा विभिन्न पर्यवेक्षण संस्थाका प्रतिनिधिहरूसँग छलफल गरिएको थियो । छलफलमा मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार मतपत्र प्राप्त भइसकेको, मतदानमा खटिने कर्मचारीको तालिम र नियुक्ति प्रक्रिया जारी रहेको तथा राजनीतिक दल र उम्मेदवारसँग समन्वय तथा छलफल सम्पन्न भएको छ ।

 

 

पूर्वअनुगमनकै क्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जिल्लामा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको, आचारसंहिता प्रभावकारी रूपमा पालना भइरहेको तथा निर्वाचन प्रचारप्रसारमै सरलता आएको बताउनुभयो । उहाँका अनुसार दलहरूले सर्वदलीय बैठकमार्फत आपसी सहमतिमा स्वच्छ र मैत्रीपूर्ण निर्वाचनको वातावरण निर्माण गरेका छन् । मतपेटिका, मतपत्र ढुवानी, संकलन र सुरक्षाका साथै सही सूचना प्रवाहका लागि सूचना प्रणालीसमेत व्यवस्थित गरिएको प्रजिअ सुवेदीले जानकारी दिनुभयो ।

 

 

जिल्ला प्रहरी प्रमुख एसपी सुमित खड्काले जिल्लाका १ सय ८ मतदान स्थललाई अति संवेदनशील र ६ मतदान स्थललाई संवेदनशील वर्गीकरण गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताउनुभयो। कर्मचारी, मतदानस्थल, मतपेटिका, उम्मेदवार तथा मतदाताको सुरक्षाका लागि सुरक्षा योजनाअनुसार काम भइरहेको उहाँको भनाइ छ ।

 

 

जिल्ला निर्वाचन अधिकारी शिव गुरुङले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको तालिम सञ्चालन भइरहेको जानकारी दिनुभयो । आयोगबाट प्राप्त १३ प्रकारका सामग्री र जिल्लामा खरिद गरिएका ३७ प्रकारका सामग्री मतदान केन्द्रमा पठाउन तयारी अवस्थामा रहेको तथा मतपेटिका व्यवस्थापनसमेत पूरा भएको उहाँले बताउनुभयो ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेले आचारसंहिता उल्लंघनका घटना छिटपुट मात्र देखिएको र त्यस्ता घटनालाई नियमन गरिएको जानकारी दिनुभयो । जिल्लामा मैत्रीपूर्ण निर्वाचनको वातावरण निर्माण भएको उहाँले उल्लेख गर्नुभयो ।

 

 

छलफलमा धादिङमा निर्वाचन पर्यवेक्षण गर्ने विभिन्न संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो । पर्यवेक्षकहरूलाई तालिम प्रदान गरी आचारसंहिता पालना, निर्वाचन प्रक्रिया तथा भयरहित वातावरण सुनिश्चित भए/नभएको विषयमा प्रभावकारी अनुगमन गर्न खटाइने जानकारी गराइएको थियो ।

 

इन्सेकका बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेलले प्रजातन्त्र पुनर्स्थापनापछि भएका सबै निर्वाचनमा इन्सेकले अनुगमन तथा पर्यवेक्षण गर्दै आएको उल्लेख गर्दै यस पटक देशभर २ सय ३२ जना पर्यवेक्षक खटाइएको जानकारी दिनुभयो । धादिङमा इन्सेकका २ जना, मानवअधिकार संगठनका ८ जना, नियाेकका १२ जना र जियाेकका ७ जना गरी विभिन्न संस्थाबाट पर्यवेक्षक परिचालन गरिने जनाइएको छ ।

 

 

समग्रमा, सरोकारवाला निकायहरूबीच समन्वय र तयारी सुदृढ बन्दै गएकोले धादिङमा स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ