सरकारले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि उपभोग दस्तुर (टोल शुल्क) निर्धारण गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार नेपाल राजपत्रमा प्रकाशित व्यवस्था अनुसार काठमाडौं उपत्यकामा भित्रिने सवारी साधनले बाहिरिने सवारीभन्दा बढी शुल्क तिर्नुपर्ने प्रावधान राखिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै उक्त शुल्क निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।

सरकारले सवारी साधनलाई चार वर्गमा विभाजन गर्दै फरक–फरक शुल्क तोकेको छ । पहिलो वर्ग (हलुका सवारी) कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस लगायतका सवारीले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । दोस्रो वर्ग मिनी बस तथा मिनी ट्रिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क लाग्नेछ । तेस्रो वर्ग सिङ्गल रियर एक्सलयुक्त बस तथा ट्रकले प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ । चौथो वर्ग (भारी सवारी) मल्टी एक्सल ट्रक तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

सुरुङमार्गमा केही सवारी साधनलाई पूर्ण रूपमा प्रवेश निषेध गरिएको छ । प्रवेश निषेध गरिएका साधनहरूमा साइकल, मोटरसाइकल, पशुचौपाया बोकेका सवारी, अत्यधिक धुवाँ फाल्ने वा प्राविधिक रूपमा कमजोर सवारी, ज्वलनशील तथा विस्फोटक पदार्थ बोकेका सवारी (जस्तै पेट्रोलियम ट्यांकर, ग्यास बुलेट) लगायत रहेका छन् । यसका साथै अत्यधिक उचाइ वा तौल भएका, सुरुङको मापदण्डभन्दा ठूलो सवारी साधनलाई पनि प्रवेश दिइने छैन । सुरक्षाका दृष्टिले पैदल यात्रुलाई समेत सुरुङमार्ग प्रयोग गर्न रोक लगाइएको छ । सरकारले आगलागी वा विस्फोटको जोखिम, भेन्टिलेसनमा समस्या, दुर्घटना भएमा उद्धार कार्य जटिल हुने सम्भावना लगायतका कारणले यस्तो प्रतिबन्ध लगाइएको स्पष्ट पारेको छ ।

सरकारका अनुसार सुरुङमार्ग सञ्चालनसँगै यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउने, यात्रामा लाग्ने समय घटाउने तथा सेवा सुविधा सुधार गर्ने उद्देश्यले यस्तो शुल्क प्रणाली लागू गरिएको हो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल