धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारको फेदीमा रहेको धाममा हिजोआज दैनिक सयौँ भक्तजन पुग्ने गरेका छन् । एकातिर बूढीगण्डकी अर्कोतिर नेत्रावती यही दुई नदीको सङ्गममा छ नरसिंह धाम धादिङ र गोरखा जिल्लाको सिमानामा पर्ने यी दुई नदी मिसिएको दोभान प्राचीन समयदेखि नै नरसिंह देवताको उत्पत्ति स्थलको रूपमा परिचित छ ।

धादिङ र गोरखा जिल्लाको सिमानामा पर्ने यी दुई नदी मिसिएको दोभान प्राचीन समयदेखि नै नरसिंह देवताको उत्पत्ति स्थलको रूपमा परिचित छ । यशोधरा भन्नाले बुढीगण्डकी र नेत्रावती भन्नाले आँखु खोला भन्ने बुझाउँछ । वैदिक सनातन शास्त्र अनुसार भगवान नृसिंहदेवको १२ प्रमुख पीठमध्ये नृसिंहधाम एक मानिन्छ । पछिल्लो समय प्रचारप्रसार र पूर्वाधार निर्माणसँगै नृसिंहधाममा पुरुषोत्तम महामहोत्सव एकाएक चर्चामा आएसँगै धार्मिक पर्यटकको चहलपहल निकै बढेको छ । दर्शनार्थीको भीड बाक्लिँदै गएको छ । भीड बढेसँगै सुरक्षाकर्मीलाई मेला व्यवस्थापन गर्न चुनौतीपूर्ण बनेको छ । प्रत्येक तीन वर्षमा आयोजना हुने बहुप्रतीक्षित पुरुषोत्तम महामहोत्सव धार्मिक आस्था र श्रद्धाको केन्द्र बनेको नरसिंह धाम दुई दिन विदामा चार लाख भक्तजनले दर्शन गरेका छन् । र आज सम्ममा ८ लाख बढी भक्तजनले दर्शन एवं पूजाअर्चना गरेका छन् । एक महिने विशेष पुरुषोत्तम महामहोत्सव मेलामा देशका कुनाकाप्चा र भारतबाट पनि भक्तजन आउन थाले ।

नृसिंहधाम पुगेर भक्तजनहरुले बुढीगण्डकी र नेत्रवाती नदीको संगमस्थलमा स्नान गर्ने, पुजापाठ गर्ने र गोत्राअनुसार कुण्डमा छुट्टाछुटै हवन,वैदिक विधिअनुसार हवन–पूजा,पितृका नाममा हवन गर्ने तथा पुरुषोत्तम महिनामा स्नान, जप, तप, दान, दीपदान जस्ता धार्मिक कार्यबाट अक्षय पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।नृसिंहधाममा पुरुषोत्तम महामहोत्सवमा महिना भरि लाखौँ भक्तजनका लागि निःशुल्क भोजन प्रसादी वितरण तथा आगन्तुक पाहुनाका लागि आवास व्यवस्थापन समेत गरिएको छ ।

धाममा दैनिक रूपमा भक्तजनहरूको अत्यधिक भीड बढ्दै जाँदा व्यवस्थापनमा केही चुनौती देखिए पनि मेला व्यवस्थापन समिति भक्तजनहरूको सेवा र सहजताका लागि निरन्तर सक्रिय रहेको,भक्तजनहरूको सहजता, पारदर्शिता तथा उपभोक्ता अधिकारलाई ध्यानमा राख्दै धाम परिसरमा सञ्चालनमा रहेका होटल, खाजा घर तथा विभिन्न पसल व्यवसायीहरूलाई आधिकारिक मूल्य सूची हस्तान्तरण गरिएको छ र उपभोक्ताबाट प्राप्त गुनासोलाई तत्काल सम्बोधन गरिने तथा नियम विपरीत कार्य गर्ने व्यवसायीमाथि आवश्यक कारबाही गरिने प्रबक्ता कुस बहादुर सिटौलाले बताए ।

महामहोत्सव अवधिभर भक्तजनहरूको सुरक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा यातायात व्यवस्थापनलाई समेत प्राथमिकतामा राखिएको र अत्यधिक भीडका कारण मोबाइल नेटवर्क तथा सम्पर्कमा समेत केही समस्या देखिएको भए पनि स्वयंसेवक, सुरक्षाकर्मी तथा स्थानीय जनप्रतिनिधिहरूलाई परिचालन गरी समाधान भैसकेको र भक्तजनहरूको सेवा, सहजता र विश्वासलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको नरसिंह धाम विकास संरक्षण मूल समितिका कोषाध्यक्ष बिष्णु हरि उप्रेतीले बताए ।

धार्मिक आस्था र सांस्कृतिक महत्व बोकेको पुरुषोत्तम महामहोत्सवले नृसिंहधामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप परिचित बनाएको छ । लाखौं श्रद्धालुको उपस्थितिले धाम क्षेत्र अहिले धार्मिक उत्साहले भरिपूर्ण बनेको छ भने मेला २०८३ साल ज्येष्ठ ३१ गतेसम्म सञ्चालन हुने छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल