भदौ १० गतेको बाढीले फुर्केखोलाको पुल बगाएपछि अवरुद्ध बनेको धादिङबेसी–पृथ्वी राजमार्ग जोड्ने सडकमा अस्थायी रूपमा यातायात सञ्चालन गर्ने प्रयास अन्तिम चरणमा पुगेको छ ।

धादिङ जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त पहलमा मलेखुस्थित फुर्केखोलामा पन्टुन ब्रिज (तैरिने पुल) ल्याएर जडान गर्ने तयारी गरिएको हो । ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले पन्टुन ब्रिज ल्याएर जडान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । उनका अनुसार राजापुर सिँचाइ व्यवस्थापन कार्यालय, बर्दियाअन्तर्गत रहेको पन्टुन ब्रिज फुर्केखोलामा ल्याई अस्थायी रूपमा जडान गरेर सञ्चालनमा ल्याउने योजना बनाइएको छ । यसैक्रममा सम्बन्धित कार्यालयसँगको समन्वयमा प्राविधिक टोलीसहित फुर्केखोलामा स्थलगत निरीक्षण गरिएको छ। निरीक्षणका क्रममा पुल जडान गर्न सकिने सम्भावना, आवश्यक प्राविधिक पक्ष र सञ्चालनको अवस्थाबारे अध्ययन गरिएको अध्यक्ष दनैले बताए ।

सबै प्रक्रिया अनुकूल भएमा केही दिनभित्रै पुल जडानको काम सम्पन्न गरी तिहारअघि नै यातायात सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । स्थायी पुल निर्माण सम्पन्न नहुँदासम्म यात्रु तथा स्थानीयवासीलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले पन्टुन ब्रिज ल्याउन लागिएको हो । पन्टुन ब्रिज कम खर्चमा छिटो जडान गर्न सकिने र आवश्यक नपरेमा सजिलै फुकालेर अर्को स्थानमा लैजान सकिने अस्थायी पुल हो । विशेषगरी नदीमा पानीको बहाव कम हुने हिउँदको समयमा आवतजावत सहज बनाउन यस्ता पुल प्रयोग गर्ने गरिन्छ । यद्यपि, यस प्रकारको पुलमा केही प्राविधिक सीमितता छन् । नदीमा पानीको बहाव अत्यधिक बढ्दा वा बाढी आउँदा सुरक्षित नहुने भएकाले वर्षायाममा जोखिम रहन्छ । साथै, अत्यधिक भार बोकेका ठूला तथा भारी सवारीसाधन सञ्चालनका लागि पनि यो उपयुक्त हुँदैन ।

फुर्केखोलाको पुल बाढीले बगाएपछि धादिङको उत्तरी क्षेत्रका बासिन्दा, यात्रु तथा व्यवसायीले लामो समयदेखि आवागमनमा कठिनाइ भोग्दै आएका छन् । पन्टुन ब्रिज जडान भएमा स्थायी पुल निर्माण नहुँदासम्मका लागि भए पनि आवागमन सहज हुने अपेक्षा गरिएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल