धादिङको गल्छी र सिद्धलेक गाउँपालिकामा सञ्चालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फानसेप) अन्तर्गतका कार्यक्रमहरूको स्थलगत अनुगमन गरिएको छ ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फानसेप), आयोजना क्लस्टर एकाइ गोरखा अन्तर्गत सञ्चालन भइरहेका विभिन्न कार्यक्रमहरूको मंगलबार विज्ञहरूसहितको टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा दुवै गाउँपालिकामा फानसेपद्वारा गठित कृषक समूह तथा पोषण समूहमा चालु आर्थिक वर्षमा सञ्चालन भएका गतिविधिबारे किसानहरूसँग प्रत्यक्ष छलफल तथा अन्तरक्रिया गरिएको थियो । अनुगमन टोलीले कृषकहरूको फार्ममै पुगेर पशुपन्छी सम्बन्धी जलवायुमैत्री तथा उन्नत प्रविधिहरूको प्रयोग, स्थानीय स्रोतसाधनको उपयोग तथा उत्पादन वृद्धिका उपायबारे जानकारी लिएको थियो । साथै कृषकहरूले कार्यक्रमबाट प्राप्त गरेका उपलब्धि र भोग्नुपरेका चुनौतीबारे समेत सुझाव संकलन गरिएको थियो ।

नेपाल सरकार र आइ.डि.ए.बीच २०८० मंसिर १५ गते भएको सम्झौतामार्फत सुरु भएको यो परियोजना धादिङको सिद्धलेक, गल्छी तथा गोरखाका आरुघाट र सहिदलखन गरी ४ पालिकाका ३४ वटा वडाहरूमा सञ्चालित छ। जिएएफएसपीको २२ मिलियन अमेरिकी डलर लगानी रहेको यस आयोजनाको अवधि २०८४ असारसम्म रहनेछ। कृषि मन्त्रालयको रेखदेखमा चलिरहेको यस कार्यक्रमले ५० हजार किसानलाई लाभान्वित गर्ने लक्ष्य राखेको छ, जसमा ६५ प्रतिशत महिला सहभागिता छ ।

फानसेप आयोजना क्लस्टर एकाइ गोरखाका प्रमुख होमनाथ लम्सालले ग्रामीण क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरी कार्यक्रम सञ्चालन गरिँदै आएको बताउनुभयो । उहाँले कृषक र समुदायको सहभागितामा आधारित कार्यक्रमहरूले दीर्घकालीन सकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्नुभयो ।कृषि अधिकृत संयम पण्डितका अनुसार पोषण पाठशाला तथा घरबारी पोषण बगैँचा कार्यक्रमका कारण बालबालिका र महिलाको स्वास्थ्य तथा पोषण अवस्थामा क्रमिक सुधार देखिन थालेको छ । त्यसैगरी कृषि अधिकृत बलदेवसिंह महरले व्यावसायिक बाख्रापालन, कुखुरापालन तथा दूध उत्पादन र बिक्रीमार्फत ग्रामीण महिलाहरूले प्रत्यक्ष आम्दानी गर्न थालेको जानकारी दिनुभयो ।

अनुगमन टोलीमा कृषि अधिकृत, पशुपालन विज्ञ, कृषि विज्ञ, पोषण विज्ञ तथा फिल्ड प्राविधिकहरूको सहभागिता रहेको थियो । टोलीले कार्यक्रमको प्रभावकारिता, उपलब्धि तथा आगामी कार्ययोजनाका विषयमा समेत सरोकारवालासँग छलफल गरेको जनाएको छ ।





गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल