ads

युवा नेता ईश्वर अधिकारीले घोषणा गरे जिल्ला सभापतिमा उम्मेदवार

बुधबार, कार्तिक १९, २०८३

theme

नेपाली कांग्रेस धादिङको आगामी जिल्ला अधिवेशनलाई लक्षित गर्दै जिल्ला सभापतिमा चर्चा चलिरहँदा जिल्ला नेतृत्वमा युवाहरुले उम्मेदवारी दिने घोषणा तिब्र छ,कांग्रेस धादिङको जिल्ला अधिवेशनको मिति र कार्यतालिकाबारे थप स्पष्टता आउन बाँकी रहँदा जिल्ला सभापतिका आकांक्षीबारे पार्टीभित्र चासो बढ्न थालेको छ । 

 

 

नेपाली कांग्रेस धादिङका युवा नेता ईश्वर अधिकारीले पार्टीको जिल्ला सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेस पुरानो पार्टी हो, राजनीतिमा धेरै योगदान गरेका नेताहरु यो पार्टीमा छन् । तथापी कांग्रेस विचार एकातिर व्यवहार अर्को तिर हुन नदिन युवाहरु नेतृत्वमा आउनु पर्ने सर्वत्र आउन थालेको छ । कांग्रेसमा मात्रै हैन हेरेक पार्टीको नेतृत्वमा युवाले स्थान पाउनु पर्छ । यहि अनुरुप आफुले जिल्ला सभापतिमा उम्मेदवारी दिन लागेको ईश्वर अधिकारीले ओखर न्यूज डट कम लाई बताए ।

 

 

जिल्लाका जनताका सुखदुःखका साथी तथा कार्यकर्तामाझ लोकप्रिय नेताका रूपमा परिचित अधिकारीले आगामी जिल्ला अधिवेशनमा सभापति पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् । सरल, मिजासिलो र सहज स्वभावका अधिकारीलाई धादिङ जिल्लामा विश्वासिलो र भरपर्दो युवा नेताका रूपमा हेरिन्छ । समन्वयकारी भूमिकामा कुशल मानिने उनी जिल्लाका विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणमाझ परिचित छन् ।

 

 

अधिकारीको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो । उनी नेपाल विद्यार्थी संघ नीलकण्ठ क्याम्पसको निर्वाचित इकाई अध्यक्ष, जिल्ला सचिव तथा निर्वाचित जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसकेका व्यक्ति हुन्। जिल्ला अध्यक्षको जिम्मेवारीमा रहँदा धादिङमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघलाई ठूलो संगठनका रूपमा स्थापित गर्न सफल भएको उनी पक्षधरको दाबी छ ।

 

 

त्यस्तै, उनी दुई कार्यकाल महाधिवेशन प्रतिनिधि भएर पार्टीको संगठनात्मक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन् । सांगठनिक अनुभव, कार्यकर्तासँगको सम्बन्ध र समन्वयकारी क्षमताका कारण अधिकारीलाई एक अब्बल व्यक्ति तथा कुशल संगठकका रूपमा चिनिन्छ । खुला अर्थनीति र बीपी कोइरालाको समाजवादउन्मुख आर्थिक नीतिका पक्षधर अधिकारी राजनीतिलाई आर्थिक विकास र समृद्धिसँग जोड्नुपर्ने धारणा राख्छन् । राजनीतिक नेतृत्वले जनताको आवश्यकता, विकास र समृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने उनको मान्यता छ ।

 

 

अधिकारीलाई सभापति बनाउनुपर्ने पक्षमा रहेका समर्थकहरूले उनी युवाहरूको ढुकढुकी, सरल र सहज व्यक्तित्व तथा सबैलाई समेटेर अघि बढ्न सक्ने क्षमता भएका नेता रहेको बताएका छन् । विशेषगरी दलित तथा जनजाति समुदायका सवालमा सशक्त आवाज उठाउन सक्ने नेतृत्वका रूपमा पनि उनलाई प्रस्तुत गरिएको छ ।

 

 

उत्तरी धादिङको रुबीभ्यालीदेखि दक्षिणी क्षेत्रको धुनिबेँसी नगरपालिकासम्मको भूगोल, सामाजिक अवस्था र राजनीतिक परिवेश बुझेका अधिकारी जिल्लाभरका कांग्रेस कार्यकर्तामाझ लोकप्रिय रहेको समर्थकहरूको दाबी छ ।पार्टीभित्र गुटगत प्रतिस्पर्धाभन्दा एकता, सहकार्य र समन्वयलाई प्राथमिकता दिँदै संगठन सुदृढीकरण तथा जिल्लाको समग्र विकासका लागि अधिकारी उपयुक्त नेतृत्व हुन सक्ने समर्थकहरूको विश्वास छ ।

 

 

यसैबीच, समर्थकहरूले पार्टीलाई एकताबद्ध र थप सुदृढ बनाउन ईश्वर अधिकारीलाई नेपाली कांग्रेस धादिङको जिल्ला सभापतिमा निर्विरोध चयन गर्नुपर्ने आग्रहसमेत गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल