अन्तर्राष्ट्रिय न्याय दिवसमा धादिङबाट सरकारलाई रोम विधान अनुमोदन गर्न ज्ञापनपत्र

शुक्रबार, श्रावण १, २०८३

theme

अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा धादिङमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को रोम विधान अनुमोदन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

 

 

ज्ञापनपत्रमा प्रत्येक वर्ष जुलाई १७ मा मनाइने अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा नेपालमा दण्डहीनताको अन्त्य, मानवअधिकारको संरक्षण तथा अन्तर्राष्ट्रिय न्यायप्रतिको प्रतिबद्धता सुदृढ बनाउन रोम विधान अनुमोदन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । ज्ञापनपत्रमा हालसम्म विश्वका १२३ राष्ट्रले अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गरिसकेको उल्लेख गर्दै दक्षिण एसियाका बंगलादेश, अफगानिस्तान र माल्दिभ्ससमेत पक्ष राष्ट्र बनिसकेको भए पनि नेपाल अझै पक्ष राष्ट्र बन्न नसकेकोप्रति ध्यानाकर्षण गराइएको छ । रोम विधानअन्तर्गत गठित अन्तर्राष्ट्रिय फौजदारी अदालतले युद्ध अपराध, आमनरसंहार तथा मानवताविरुद्धका गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउने व्यवस्था रहेको उल्लेख गर्दै यसले राष्ट्रिय अदालतको अधिकार क्षेत्र कटौती नगरी दण्डहीनताको अन्त्यमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

 

 

ज्ञापनपत्रमा पुनः स्थापित प्रतिनिधिसभाले २०६३ साउन ९ गते नेपाल सरकारलाई रोम विधान अनुमोदन गर्न निर्देशनात्मक संकल्प प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको स्मरण गराइएको छ । साथै संयुक्त राष्ट्रसंघको मानवअधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षा (UPR) का क्रममा विभिन्न राष्ट्रहरूले पनि नेपाललाई रोम विधान अनुमोदन गर्न दिएको सुझाव कार्यान्वयन गर्न आग्रह गरिएको छ ।

 

 

त्यसैगरी तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादवले २०६५ माघ २९ गते रोम विधान अनुमोदनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्तुत गरेको तथ्य उल्लेख गर्दै नेपाल सरकारले अब ढिलाइ नगरी अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गरी अन्तर्राष्ट्रिय कानुन, मानवअधिकार र न्यायप्रतिको आफ्नो प्रतिबद्धता स्पष्ट रूपमा  गर्नुपर्ने माग गरिएको छ ।

 

 

ज्ञापनपत्रमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धादिङका सीताराम अधिकारी, नेपाल मानवअधिकार संगठन धादिङका कृष्णबद्री पौडेल, अनलाइन मिडिया सोसाइटी धादिङका केशव अधिकारी, नेपाल पत्रकार महासङ्घ धादिङका तर्फबाट सचिव सन्तोष श्रेष्ठ,नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ धादिङका अर्जुन श्रेष्ठ, दलित सेवा सङ्घ धादिङका श्याम मगराती, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ बागमती प्रदेशका शंकर श्रेष्ठ, पत्रकार शिवप्रसाद लम्साल तथा तामाङ पत्रकार सङ्घ धादिङका बिरमान तामाङले हस्ताक्षर गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल